प्रस, गरुडा, १३ पुस/

रौतहटमा मङ्गलवार दिउँसो भएको स्कार्पिओ दुर्घटनामा छजना जन्तेको मृत्यु भएको छ । जन्ती लिएर विवाहबाट फर्किरहेको भारतीय नम्बरको स्कार्पिओ गाडी रौतहटको गरुडामा दुर्घटना हुँदा छजनाको मृत्यु भएको हो । मृतक सबै एकै गाउँका रहेका छन् ।

रौतहटको गरुडा नगरपालिका–१ जयनगरस्थित गौर–चन्द्रपुर सडकखण्डमा गौरबाट गरुडातर्फ जाँदै गरेको बिआर ०५ पिए ६९५३ नम्बरको स्कार्पिओ दुर्घटना भएको हो । नरकटिया गाउँबाट गम्हरिया गाउँतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोको छेउमा रहेको बिजुलीको पोलमा स्कार्पिओ ठोक्किएको थियो ।

दुर्घटनाको खबर पाउनासाथ उद्धारमा जुटेको प्रहरी टोलीले गम्भीर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो । उपचारकै क्रममा छजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गढीमाई नगरपालिका वडा नं ३ गम्हरियाका १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा मोसाफिर अन्सारी र २५ वर्षीय शेख छोटुको उपचारको क्रममा गरुडास्थित रौतहट ग्रान्डी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, थप उपचारको लागि वीरगंजतर्फ लैजाँदै गर्दा १५ वर्षीय शेख अजिबुल्लाहको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पहिचान नखुलेको एकजना ४०/४५ वर्षका पुरुषको सुकदेव चोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीय शेख अल्फाज, १५ वर्षीय शेख अमानत र १७ वर्षीय शेख करिमुल्लाह रहेका छन् । घाइतेमध्ये शेख अल्फाजलाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने दुईजनाको उपचार गरुडामा भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

जन्तीबाट फर्किरहेको गाडी दुर्घटनामा परेर छजना हताहत भएको र अन्य तीनजना घाइते भएको खबरले गाउँ नै शोकमा डुबेको गम्हरियाका समाजसेवी शेख ग्यासुद्दीनले जानकारी गराएका छन् । घटनाको विषयमा छानबीन भइरहेको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here