बेइजिङ, १० पुस/सिन्ह्वा
चीनमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महीनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिवार जानकारी दिएका छन् ।
कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अरू देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो ।
शुरूमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्यूनीकरण गर्न सफल भएको थियो भने चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरेको छ । चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् ।
अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरू बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।