प्रस, निजगढ, ९ पुस/
फोहोरबाट मोहोर आर्जन गर्न सकिने जनाउँदै ‘तपाईंको घरको फोहोर हामीलाई दिनुस् । तपाईंलाई हामी नगद दिन्छौं’ भन्दै स्थानीय सरोकार सङ्घसंस्था, टोल विकास समिति, नागरिक अगुवा, राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।
निजगढमा फोहोरबापत मोहोर दिने प्रतिबद्धता ग्रीन एन्ड क्लिन सिटी, हेटौंडाले गरेको हो । एकीकृत फोहोर सङ्कलन विधिसम्बन्धी गोष्ठीमा प्रमुख अतिथि एवं निजगढ–९ अध्यक्ष सुदर्शनप्रसाद बडालले असल नागरिकको परिचय दिनसमेत फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान दिनैपर्ने बताए । उनले निजगढ नगरको फोहोर व्यवस्थापनको जिम्मा लिएको यस संस्थाले तौलेर प्रतिकिलोको दरले फोहोर खरीद गर्ने बताए ।
कार्यक्रममा फोहोरको व्यापार गरी त्यसको उचित व्यवस्थापनमा सबैलाई सहयोग पु¥याउन संस्थाका सञ्चालक नवराज खतिवडाले आग्रह गरे । करीब आठ महीनाअघि निजगढ नपासँग सम्झौता भएपनि कोरोना महामारीका कारण फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नसकिएको तर अब कामले गति लिने सञ्चालक खतिवडाले बताए ।
यसअघि सो संस्थाले नगरको फोहोरमैला व्यवस्थापनको नाममा निजगढको बकैया पुलको दक्षिणतर्फको नदी किनारमा डम्पिङ साइट बनाएर आगो लगाउँदै प्लास्टिक, सीसा, धातुजन्यलगायतका फोहोरमैलाको व्यवस्थापन गरेपछि नगरवासीहरूले सो कार्यको विरोध गरेका थिए ।
निजगढमा दैनिक कम्तीमा पनि छ टन फोहोरमैला सङ्कलन हुने जनाइएको छ । सो कार्यक्रम शुक्रवार निजगढ नपा–९ का सरोकारवाला संस्थाहरूबीच गौरीशङ्कर क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो ।