प्रस, वीरगंज, ९ पुस/
वीरगंज महानगरपालिका–१४ राधेमाई क्षेत्रको गिरीटोलमा पत्याउनै नसकिने घटना भएको छ ।
पोखरिया नगरपालिका–१ वनकटवा टोल घर भई राधेमाईमा घर बनाएर बस्दै आएका बलिराम गिरीको घरमा एक हप्तादेखि स्वतः आगलागी भइरहेको छ । बेलुका ४ देखि ५ः३० बजेभित्र सो घरमा राखिएको कपडामा आगो लाग्ने गरेको पीडितले बताएका छन् ।
गत शुक्रवारदेखि सो घरमा आगलागी शुरू भएपछि हिजोसम्म घरको कुना–कुनामा आगलागी भएको गिरीको भनाइ छ ।
यतिसम्म कि सुकाउनका लागि बाहिर राखिएको भिजेको साडीसमेत जलेर नष्ट भएको गिरीको दाबी छ । घरमा आगलागीका कारण बच्चाहरूका सबै कपडा जलेर नष्ट भएपछि तीनजना बालक विद्यालय जान सकेका छैनन् । बच्चाहरूको फेरि जल्ने डरले नकिनेको गिरीको भनाइ छ ।
घरमा ९० प्रतिशत कपडा जलेर नष्ट भएको गिरीले बताए । आगलागीको कारण बुझ्न गिरी पूजापाठसहित धामीझाँक्रीकहाँ पुगे पनि समस्या सुल्झिएको छैन । घरको एउटा कोठामा सुत्दा अर्को कोठा आगो लाग्ने गरेको छ । गिरी प्रहरी भएका कारण भूतप्रेतको कारण यस्तो भएको पनि मान्दैनन् ।
आगो लागेको कारण घरभित्रका भित्ताहरू कालो भएका छन् ।