राधेश्याम पटेल, जगरनाथपुर, ८ पुस/

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले छिटो चुनाव चाहेको बताएका छन् । मधेस आन्दोलन र नाकाबन्दीपश्चात् पहिलोपटक मधेस आएका ओली पर्साको पश्चिमी भेग जगरनाथपुर गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

भ्रष्टाचारमा लिप्त गठबन्धनको सरकार रहेकोले देशमा अहिले गरीबी बढेको र विकास पुनः अवरुद्ध भएको उनले जिकिर गरे । “अहिले देशको विकास रोकिएको छ, गरीबी बढेको छ, बैंकसँग पैसा छैन, धितो राखेर पनि ऋण लिने अवस्था छैन,” उनले भने, “देश बचाउने र विकास गरी समृद्धि ल्याउने पार्टी नेकपा एमाले मात्रै भएकोले यसमा आउनुहोस्, म स्वागत गर्न तयार छु ।” उनले भारतबाट नेपालको भूमि फिर्ता ल्याउने निर्णय गरेको र तराई–मधेसलाई बाढीको चपेटबाट बचाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर भारतका विभिन्न बाँध खोलाएर पानी निकास गराएको दाबी गरे ।

उनले आफ्नै पालामा हुलाकी राजमार्ग निर्माण गराइ तराई–मधेसको जनजीवन सहज बनाएको चर्चा गर्दै देशमा औद्योगिकीकरण, कृषिमा आधुनिकीकरण, भारत तथा तेस्रो मुलुकसँगको व्यापार सहजताको लागि भारतका चारवटा बन्दरगाहबाट रेलवे कनेक्टिभिटी गर्न सफल भएको बताए । उनले नेपालको पानीजहाज र अन्तरिक्षमा नेपाली सेटेलाइट राख्न पनि स्पेस किनिसकेको चर्चा गर्दै सामाजिक सुरक्षा भत्तामा बढोत्तरी गरी ठूलालाई सम्मान गरेको बताए ।

उनले पुष्पकमल दाहाल प्रचण्डल आफ्नो ऋण चुकाउन नसकेको भनी असन्तुष्टि पोखे । “प्रचण्डलाई मैले नै हात समाएर नेकपा एमालेसँग एकता गरी वामपन्थीको मूलधाराको राजनीतिमा ल्याएको थिएँ, देश विकासमा अगाडि बढाउन खोजेको थिएँ,” उनले भने, “तर उनलाई त्यो पचेन, उनलाई आफ्नो विकाससँग मात्र मतलब छ, उनी आफ्नो परिवार, आफन्तजनको विकास मात्र चाहन्छन् ।” उनले आफ्नो कार्यकालमा देशमा साढे चार सय सडक बनेको र देश विकासको बाटोमा अघि बढेको पनि औंल्याए ।

विभेद र असमानता हटाउने पार्टी एमाले –विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजमा विभेद र असमानता हटाउने पार्टी एमाले भएको बताएका छन् । केपी ओलीसँग जगरनाथपुर पुगेका पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले आगामी चुनावमा नेकपा एमालेलाई दुई तिहाइ बहुमत प्राप्त हुने ठोकुवा गरे ।

“देशमा एउटा मात्र मजबूत पार्टी छ, त्यो नेकपा एमाले हो,” उनले भने, “नेकपा एमालेले तराई–मधेस, पहाड र हिमालका सबै जनतालाई समान नजरले हेरेको छ ।” कार्यक्रममा एमाले पार्टीबाट प्रभावित भएर आफू प्रवेश गरेको जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँले बताए।

ओली र हेलिकोप्टरलाई हेर्न गाउँलेको ओइरो

केपी शर्मा ओलीको कार्यक्रममा सहभागी हुन पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनसहित प्रदेश २ का विभिन्न जिल्लाबाट हजारौं नेता, कार्यकर्ता र समर्थकहरू आएका थिए । पैदल, साइकल, मोटरसाइकल, कार, जीप, भ्यान, ट्याक्टर, बसलगायतका सवारीसाधनबाट कार्यक्रम स्थलमा उनीहरू पुगेका थिए ।

कतिपय समर्थक आफ्नो गाडीमैं भाँडाकँुडासहित खानेकुराको प्रबन्ध मिलाएर पुगेका थिए । केही गाडीमा बाजागाजासहित नाच टोली पनि पुगेको थियो । ओली र हेलिकोप्टर हेर्न सर्वसाधारणको जगरनाथपुरमा भीड लागेको थियो ।

गापा भवन उद्घाटन

जगरनाथपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका केपी शर्मा ओलीको स्वागतमा आएका स्थानीयहरूको भीडले गेट नै भाँचिएको छ । त्यहाँ उपस्थित गापा कर्मचारी तथा जनप्रतिनिधिहरूबीच ओलीलाई पुष्प गुच्छा र फूलमाला लगाउन केही बेर तँछाडमछाड चलेको थियो ।

विद्यालय खुले तर विद्यार्थी आएनन्
ओमप्रकाश चौधरी, सेढवा/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवार जगरनाथपुर आउने कार्यक्रम तय भएपछि गापामा रहेका सामुदायिक विद्यालयहरू मौखिक सूचनाबाट बन्द गर्न भनिएको थियो ।

जगरनाथपुर गापाका शिक्षा संयोजक नरेश कोइरीले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ र फोकल शिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने तालीम समापन कार्यक्रममा बुधवार मौखिक सूचनाबाट बिहीवार विद्यालय बन्द गर्न र आमसभामा सहभागी हुन सूचित गरेका थिए । सोही अनुरूप प्रअहरूले आआप्mनो विद्यालयमा शिक्षकहरूलाई बिहीवार विद्यालय बन्द भएको सूचना विद्यार्थीलाई दिन निर्देश दिएका थिए ।

शिक्षकहरूले विद्यालय बन्द हुने सूचना जारी पनि गरे । तर साँझदेखि रेडियो, अनलाइनमा यो समाचार आएपछि शिक्षा संयोजक कोइरीले पुनः प्रअहरूलाई बिहीवार विद्यालय सञ्चालन हुने र विद्यार्थीसहित उपस्थित हुन निर्देशन गरेका थिए । तर बिहीवार खुलेको विद्यालयमा बीस प्रतिशत पनि विद्यार्थी आएनन् । बिदाको पूर्वसूचना पाएको कारण विद्यार्थीहरू विद्यालय नआएका हुन् । शिक्षकहरू भने हाजिर गर्न पुगेका थिए । जगरनाथपुर गापामा तीसवटा सामुदायिक विद्यालय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here