सुदूरपश्चिम, ८ पुस/रासस
धनगढीमा जारी प्रधानमन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवारको खेलमा जीत निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नं २ लाई ८७ रनअन्तरले पराजित गरेको छ । तीन खेलमा प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले एकमा हार र दुईमा जीत दर्ता गर्दै चार अङ्कसहित सेमिफाइनलमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बिन्दु रावलले ५० रनसहित अर्धशतकीय पारी खेलिन् ।
रूवी पोदारले २१, डल्ली भट्टले १५, कविता जोशी र सङ्गीता धामीले समान १३/ १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले दुई र साना प्रवीण, अनुराधा चौधरीले एक/एक विकेट लिए ।
१४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।
उसका लागि साना प्रवीणले १४ र विमला मगरले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सुदूरपश्चिमका कविता जोशी र लक्ष्मी साउदले समान दुई विकेट लिंदा ईश्वरी विष्टले एक विकेट लिइन् । बिन्दु रावल ‘प्लेयर अफ दी म्याच‘ घोषित भइन् ।