लन्डन, ८ पुस/सिन्ह्वा

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारी अनुसार बुधवार मात्र १ लाख ६ हजारभन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिन ९६ हजार मानिस यो भाइरसबाट सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरू भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिनजसो सबैभन्दा धेरै सङ्क्रमित देखिन थालेका छन् । यहाँका अधिकारीहरूले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यस कारण यहाँका कतिपय कार्यक्रममा पनि प्रतिबन्ध लगाउन शुरू गरिएको छ ।

यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी, बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य कमी आएको देखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here