नयाँ दिल्ली, ७ पुस/एएनआई
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरू दैनिकरूपमा थपिंदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरूले बुधवार जानकारी दिएका छन् ।
तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।
दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गानामा २४ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट छ हजार ३१७ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी, अरू ३१८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरि अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या ७८ हजार १९० पुगेको छ । यो सङ्ख्या ५७५ दिनपछिकै सबैभन्दा कम हो । रासस