प्रस, पर्सागढी, ५ पुस/
प्रहरी चौकी, मिलनचोकले अवैध कामलाई बढावा दिएको छ । वीरगंज महानगर–३१ भेडाहा खोलाको टेन्डर भएको छैन तर यहाँबाट दैनिक पचासौं ट्याक्टर बालुवाको उत्खनन भइरहेको छ।
बेलुकी ९ देखि राति १२ बजेसम्म ट्याक्टरधनीहरूले भेडाहा खोलामा अवैध उत्खनन गर्ने र खोलानजीकै बालुवा थुपारेर राख्ने तथा बिहान ७ बजेदेखि थुपारिएको बालुवा ढुवानी गरेर गन्तव्यसम्म पु¥याउने गर्छन् ।
यो काममा प्रहरी चौकी, मिलनचोकका प्रमुख राशनन्दन यादवको मिलीभगत छ । उनी दैनिक ट्याक्टरधनीसँग मदिरापसलमा मदिरासेवन गर्ने र अवैध बालुवा उत्खननका लागि लाइन दिने गर्दै आएका छन् । यसबारे उनीसँग बुझ्दा उनले बालुवा उत्खनन नभएको दाबी गरे तर दैनिकजसो बालुवा उत्खनन जारी छ ।
प्रहरी चौकी, मिलनचोकमा हुने अवैध गतिविधिको यो मात्र उदाहरण होइन । विभिन्न चरणमा बरामद काठ, साइकलहरू पनि अनियमित तरीकाले सो प्रहरी चौकीले बिक्री गर्दै आएको छ । बरामद काठ स्थानीय वन कार्यालय अथवा जिल्ला वन कार्यालयमा बुझाउनुपर्नेमा प्रहरी चौकीले राखेर गोप्यरूपले बिक्री गर्ने गरेको छ ।
साइकल भने प्रतिगोटा रु दुई सयमा बिक्री गरिएको प्रहरी स्रोतले जनाएको छ । बरामद गरिएको काठ भने अहिले चौकीमा छैन र साइकलहरू पनि गायब छन् । प्रहरी चौकी, मिलनचोकले बरामद काठ स्थानीय वन कार्यालयलाई बुझाएको छैन । स्रोतले काठ बिक्री गरेको जनाएको छ ।