काठमाडौं, ५ पुस/रासस
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमवार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै पहिलो जीत दर्ता गराएको हो । यो जीतसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औं स्थानमा उक्लेको छ ।
एपिएफको जीतमा आशिष लामाले दुर्ई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काए । एपिएफले खेलको ३०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो । कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठीक बाहिरबाट विक्कीले उत्कृष्ट गोल गरे । खेलको ३२औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । कप्तान नवीन लामाकै पासमा उनले गोल गरेका थिए ।
त्यस्तै, खेलको ५६औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । खेलको ६९औं मिनेटमा प्रिजेनले पेनाल्टीमा सान्त्वना गोल फर्काए । एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । पाँच खेल खेलेको फ्रेन्ड्स दुर्ई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा ‘म्यान अफ दी म्याच’ घोषित भए ।