प्रस, वीरगंज, ५ पुस/
नेपाल आयल निगम, वीरगंजका निमित्त कार्यालय प्रमुख पवन यादवले मापदण्डविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने डिलरहरूलाई कारबाई गर्ने बताएका छन् । निमित्त प्रमुख यादवले पर्सा र बाराका पेट्रोलियम पदार्थ बिक्री गर्ने डिलरहरूलाई माग अनुरूपको पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल उपलब्ध गराउँदै आएको बताए । उनले हालको अवधिमा खपत र माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराइएकोले कहींकतै अभाव नभएको बताए ।
यसबारेमा कहींकतै अपचलन भएको छ भने सूचना गर्न र त्यस्तो अपचलन गर्ने डिलरलाई कारबाई गर्ने बताए । पर्सा जिल्लाका सीमावर्ती क्षेत्रमा रहेका पेट्रोलियम पदार्थ बिक्री गर्ने डिलरहरूले स्थानीयलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराएको गुनासो निमित्त प्रमुख यादवलाई गराउँदा उनले सो कुरा बताएका हुन् ।
अहिले पर्सा जिल्लाका सीमावर्ती क्षेत्रबाट व्यापकरूपमा डिजेल, पेट्रोलको तस्करी भइरहेको छ। भारतमा नेपालको तुलनामा पेट्रोल, डिजेल महँगो भएकाले तस्करीको माध्यमबाट डिजेल, पेट्रोल भारत पु¥याउने कार्य अहिले पनि जारी छ ।
नेपालमा पेट्रोल रु १३५.२०, डिजेल रु ११७.३५ मा उपलब्ध छ भने सीमावर्ती भारतमा रु १६९.४४, डिजेल रु १४५.७३ मा बिक्री भइरहेकाले नेपालबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको हो ।
लामो समयदेखि पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ र यसलाई नियन्त्रण गर्न सकिएको छैन । पछिल्लो चरणमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपनि अहिलेसम्म भारत र नेपालबीचको पेट्रोलियम पदार्थमा मूल्य समायोजन हुन नसक्दा तस्करी मौलाउँदै छ ।
नेपाल आयल निगम वीरगंजका निमित्त प्रमुख यादवले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म एक करोड ४७ लाख २७ हजार लिटर पेट्रोल र चार करोड ४६ लाख ७६ हजार लिटर डिजेल पर्सा र बाराका डिलरहरूमार्फत बिक्री भएको जानकारी गराएका छन् ।