प्रस, परवानीपुर, ५ पुस/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा तौलपुल तथा अन्य उपकरणको व्यवस्थापन राम्ररी हुन नसक्दा व्यवसायीले अनेक समस्या झेलिरहेका छन् ।
श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन गर्ने प्रिस्टिन भ्याली प्रालिको कमजोर व्यवस्थापनका कारण व्यवसायीलाई समस्या भइरहेको छ । खासगरी बिसिएन गोदामबाट मालसामान बोकी निस्किने गाडीहरूको समयमा तौल हुन नसक्दा सामान लोड गाडी घण्टौं लाइनमा बस्नुपरेको गाडी चालकहरूले गुनासो गरेका छन् ।
सुक्खा बन्दरगाहमा बिसिएन गोदामबाट बोराबन्द सामान र फलामजन्य सामानको तौल गर्नका लागि दुईवटा तौलपुल रहेकामा प्रायः एउटा पुल बिग्रिएकै अवस्थामा पाइन्छ । अहिले पनि पश्चिमतिरको तौलपुलले मात्र थेगिरहेको छ । पूर्वपट्टिको तौलपुल विगत १२ दिनदेखि बिग्रिएर मरम्मत सम्भार भइरहेको छ । बिसिएन गोदाममा बोराबन्द सामानमा मल, स्पन्ज आइरनको धूलो, भटमास, चामल, चिनीलगायतका सामान लोड हुने गरेको छ ।
त्यसैगरी, फलामजन्य औद्योगिक कच्चा पदार्थमा एमएस बिलेट, स्पन्ज, एङ्गल च्यानल बिम, एचआर सिट, एचआर क्वाइललगायत सामान ट्रक र टेलरमा लोड गरी जाँचपास गर्नुपर्छ । दैनिक १२० भन्दा बढी गाडी निस्किनुपर्नेमा एउटा तौलपुल बिग्रँदा ८० वटा गाडीको मात्र दैनिक जाँचपास भइरहेको छ भने अन्य गाडीहरू लाइनमा बसेर घण्टौं कुर्नुपर्ने बाध्यता छ । प्रवेश शुल्क र तौलपुल गरेबापत आयातकर्ताले प्रतिगाडी साढे चार सय रुपैयाँ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्यालीलाई तिर्छन् ।
तर समयमा गाडी तौल हुन सक्दा समयमैं गाडी निस्किन पाउँदैन भने अर्कोतर्फ लामो समयसम्म मालसामान बोकेर लाइनमा गाडी होल्ड हँुदा गाडीको चक्कामा पनि क्षति पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीका अनुसार बिसिएन गोदाममा भारी सामान लोड अनलोड गर्ने क्रेन र हाइड्रा पनि बिग्रेको अवस्थामा रहेकाले सामान लोड अनलोडमा पनि समस्या भइरहेको छ ।
यस सम्बन्धमा प्रिस्टिन भ्यालीका अधिकारीसँग बुझ्दा तौल र अन्य उपकरणको व्यवस्थापनको लागि कम्पनी गम्भीर रहेको र समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।