प्रस, निजगढ, २ असोज/
बाराको सबडिभिजन वन जैतापुरमा वनरक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–१७ को जैतापुर वन क्षेत्रमा गोली हानाहान भएपनि कोही हताहत नभएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ।
भदौ ३१ गते मध्यरातमा काठ तस्कर आउने भोडाहास्थित पसाह खोला बाँध नाका कुरेर बसेका जैतापुर वन रेन्जपोस्टका सशस्त्र वनरक्षकमाथि तस्कर समूहले गोली चलाएको थियो। प्रतिउत्तरमा वनरक्षकहरूले पनि गोली चलाएका थिए। तस्कर समूहमा तीनजना रहेका र उनीहरूमध्ये एकजनालाई वनरक्षकले पक्राउ गरेको जैतापुर वन रेन्जपोस्टका इन्चार्ज जयप्रकाश साहले बाराको करैयामाई गाउँपालिका–४ का ४७ वर्षीय इस्लाम मियाँ पक्राउ परेको बताए।
डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले १० वटा साइकलमा लोड गरिएका १० थान हरियो सालका गोलिया बरामद भएको बताए। पक्राउ परेका मियाँका अनुसार ३५ जनाको समूह काठ चोरी गर्न वनमा गएको बताए।
लकडाउनमा काठ तस्करहरू समूहगतरूपमा वन प्रवेश गरी मधुवन, जैतापुर, रामनगर, बोधवन, कोल्हवी, ककरी, डकाहा वन क्षेत्रमा काठ चोरी तस्करीका वारदात गर्दै आएका छन्।