प्रस, वीरगंज, ५ पुस/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा मङ्सिर २७ गतेदेखि सञ्चालित साताव्यापी ट्राफिक सचेतना अभियान समापन भएको छ ।
पुस ४ गते साँझ ट्राफिक सचेतना अभियान समापन भएको हो । सामुदायिक सेवा केन्द्र, छपकैयाको सहकार्यमा हिजो श्रीराम सिनेमा हलबाट ¥याली निकालेर मालपोत सडकमा समापन भएको थियो । सो कार्यक्रममा सहभागीहरूले साना, ठूला, मझौला सवारीसाधनका चालक, सहचालक, सडक प्रयोग गर्ने यात्रीसमेतलाई ट्राफिक नियमबारे पम्पलेट आदिबाट सचेत गराएका थिए ।
हिजो समापन कार्यक्रममा ट्राफिक सचेतनासम्बन्धी तीन सयवटा पम्पलेट वितरण गरिएको र दुई सयवटा स्टीकर सवारीसाधनमा टाँस गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराईको अध्यक्षतामा भएको थियो । ट्राफिक सचेतना अभियान अन्तर्गत महानगरका विभिन्न ठाउँमा चालक, सहचालक, यात्री, पैदल यात्री, विद्यार्थीलगायतलाई ट्राफिक नियमबारे जानकारी गराइएको थियो।