प्रस, वीरगंज, ३ पुस/
पर्सा प्रहरीले असली हुन्डी गर्नेहरूलाई छाडेर नक्कली व्यक्तिहरूलाई पक्राउ गर्न थालेपछि अहिले वीरगंजमा वास्तविक हुन्डी कारोबारीहरूको रजगज चलेको छ । पैसासहित पक्राउ परेका जोकोहीलाई पनि हुन्डी कारोबारी भन्दै मुद्दा लगाउने तर अदालतलाई चाहिने प्रमाण नहुँदा उनीहरू छुटने गरेका छन् ।
यसो गर्दा हुन्डी कारोबारीबाहेकका सर्वसाधारण नागरिक आतङ्कित बनेका छन् । कानून व्यवसायीका अनुसार प्रहरीले बाटोबाट पक्राउ गरेका जोकोहीमाथि मुद्दा लगाएपछि कुनै पनि आर्थिक कारोबारका लागि रकम लिएर हिंड्न सर्वसाधारणलाई गा¥हो भएको छ । बीच बाटोबाट पैसासहित पक्राउ गरी हुन्डी कारोबारी भएको दाबी गर्दै अदालतमा पुगेका व्यक्तिहरू कारोबारी ठहर हुन नसक्ने भन्दै अदालतले दजनौं मानिसको फाइल फिर्ता पठाएको छ ।
समाचार स्रोतका अनुसार वास्तविक हुन्डी कारोबारीहरू अहिले वीरगंजमा करोडौंको कारोबार गरिरहेकै छन् । उनीहरूले दैनिक लाखौं कर छली गरे पनि त्यसतर्फ कारबाई गर्ने निकायको ध्यान जान सकेको छैन ।
विगतमा पर्सा प्रहरीले नगरका विभिन्न क्षेत्रबाट हुन्डी कारोबारीलाई घर वा कार्यालयबाट सप्रमाण पक्राउ गर्ने गरेको थियो । तर अहिले सडकबाट नै पैसासहित पक्राउ परेका जोकोहीलाई हुन्डी कारोबारी हो भन्दैमा न्यायालयले कसरी स्वीकार गर्ने कानूनी व्यवसायीहरूको तर्क छ । वास्तविक हुन्डी कारोबारी नभई आफ्नो विभिन्न कारोबारका रकम बैंकसम्म पु¥याउन खोज्नेहरूसमेत पक्राउ परिरहेका छन् ।
अर्कोतर्फ सीमावर्ती बजारबाट सङ्कलन भएका नेपाली रुपैयाँ भाडा लिई बोक्ने मजदूर हुन् । अदातलमा प्रहरीले पेस गरेका प्रमाणभन्दा पक्राउ परेका व्यक्तिहरूसँग धेरै प्रमाण हुन सक्छ । हुन्डीको पैसा कहीं जाँदैन वीरगंजमा नै रहन्छ वकीलहरूको भनाइ छ । केही समययता हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेकाहरू अधिकांश बैंकमा रकम जम्मा गर्न हिंडेका व्यक्तिहरूलाई पक्राउ गरेको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले उनीहरूमाथि पनि मुद्दा लगायो तर उनीहरू आफ्नो आधार प्रमाण पेस गरेर जिल्ला अदालत पर्साबाट मुक्त भएका छन् । विगतमा हुन्डी कारोबारी पक्राउपछि कर छलेको आरोपमा सम्पत्ति सुदृढीकरण विभागमा पठाउने चलन थियो । तर अहिले मुद्दा लगाइ हल्ला फैलाउने र सर्वसाधारणको मानमर्दन गर्नेबाहेक गतिलो काम नभएको उनीहरूको आरोप छ ।
कानून व्यवसायीका अनुसार रकमसहित पक्राउ परेका व्यक्तिहरू अहिले बढीमा १० दिनमा नै सामान्य तारिखमा छुट्ने गरेका र छ महीनामा मुद्दाको छिनोफानो हुने गरेको छ । प्रहरीले छोरी कुटेर बुहारी तर्साउने प्रवृत्ति देखाउनुभन्दा पनि वास्तविक हुन्डी कारोबारीलाई पक्राउ गरेर पोख्त प्रमाण पेस गर्न र सर्वसाधारणलाई अनावश्यक दुःख नदिन पीडित पक्षको माग छ ।