प्रस, वीरगंज, ३ पुस/
प्रदेशका अन्य जिल्लाको तुलनामा पर्साको शिक्षा स्तर बलियो भएपनि देशको तुलनामा प्रदेश २ पछि रहेको सङ्घीय वन तथा वातावरण मन्त्री रामसहाय यादवले बताए । प्याब्सन, पर्साको १५औं अधिवेशन उद्घाटनको क्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।
शिक्षाको सुधार नभएसम्म देशको विकास नहुने भन्दै उनले नेपालको संविधानले मौलिक अधिकारभित्र शिक्षालाई राखेको हुँदा निश्शुल्क शिक्षा पाउनु नागरिकको अधिकार भएको बताए। निजी विद्यालयहरूको सङ्गठन प्याब्सनले आउँदो समयमा यस क्षेत्रको शिक्षामा क्रान्ति ल्याउनुपर्नेमा जोड दिएका मन्त्री यादवले निजी विद्यालयहरूले शिक्षामा पु¥याएको योगदानबारे चर्चा गरे ।
निजी विद्यालयले जस्तै सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षामा योगदान नदिएसम्म जिल्लाको विकास नहुने उनले ठोकुवा गरे । मुलुकको सूचाङ्कमा अहिले पनि प्रदेश २ शिक्षाको क्षेत्रमा कर्णाली प्रदेशभन्दा पछाडि रहेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्नुपर्नेमा जोड दिए।
प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा बेगम, नेकपा एमाले पर्साका केन्द्रीय सदस्य प्रभु हजरा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेका पर्साका सचिव श्याम पटेल, इमामुद्दीन अहमद, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।