भारतबाट नेपालमा निर्बाध आवतजावत

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सुषमा शर्मा, वीरगंज, २ असोज/
    पछिल्लो समयमा पर्सानजीक भारतको बिहारमा कोरोना सङ्क्रमित बढ्दो पाइएको छ। जसले गर्दा पर्सावासी  जहिले असुरक्षित महसूस गरिरहेका छन्।
    नेपाल सरकारबाट तोकिएको नाकाबाहेक अरू सबै नाका बन्द गरी आवतजावतमा रोक लगाएको छ। तर पनि यहाँ निर्बाधरूपले आवतजावत भइरहेको पाइएको छ।
    वीरगंजको नेशनल मेडिकल कलेजको बाटो हँुदै हामी केही सञ्चारकर्मी विश्रामपुर पुग्ने क्रममा बिहान करीब ११ः३० बजेको थियो। केही बालक र  वृद्ध लाइन लागेर साइकलमा चामल ओसारिरहेका थिए। शुरूमा त घरको दैनिक प्रयोगका लागि केही सामान होला भन्ने हामीलाई लाग्यो। चामल ढुवानी गरिरहेको एकजना बालकको साइकल रोकेर मैले सोधें यो चामल कहाँबाट ल्याएका हौं ? ती बालकले भारतबाट ल्याएको र सोबापत प्रतिबोरा रु १०० पाउने बताए। यत्तिकैमा एकजना बालक साइकलमा सकिनसकी तरकारी ल्याउँदै थिए। उनले सो हरियो तरकारी इटियाहीबाट नजीक पर्ने बारा जिल्ला क्षेत्रको नाकाबाट भित्र्याएको
बताए।
    नेपाल सरकारले अनुमति दिएको नाका वीरगंज भन्सार नाका मात्र हो। बारा जिल्लाको कुनै पनि नाकाबाट हाल आवागमनको लागि अनुमति दिइएको छैन। यदि कसैलाई आउनुपरेमा मुख्य नाका हुँदै आउने र १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अनि मात्र आफ्नो गन्तव्यतिर लाग्नुपर्ने व्यवस्था छ। तर यहाँ भने सयौंजना भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याइरहेका थिए।
    दिनको करीब १२ः३० बजेको थियो। भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक किशोरलाई सोधें, “मलाई सीमापारि जानु छ सामान किन्न, यताबाट जान पाइन्छ ?” किशोरले साइकल रोक्दै भने, “यताबाट नजानु, यताबाट स्कुटी जाँदैन, उता मुसहर गाउँबाट जानु, त्यहाँ राम्रो बाटो छ, म त्यहींबाट आएको हुँ, बन्जरिया जाँदैछु,” उनले थपे, “सामान जति पनि ल्याउन पाइन्छ। यी सबै तरकारी, चामल, पीठो त्यहींबाट त आइरहेको छ।”
    बन्जरिया नाकाबाट बिहानपख चामल, दाल, पीठो, तरकारी र साँझदेखि रातिसम्म कपडा आउने रहेछ। त्यति जानकारी दिएर किशोर अगाडि बढे। हामी पनि त्यहींबाट फर्केर तरकारी बोकेको साइकलको पछिपछि लाग्यौं। यसरी आउँदा एक ठाउँमा दुईजना प्रहरी देखिए। तरकारी बोकेको साइकलको गति कम भयो। प्रहरीले साइकललाई रोक्यो र फेरि छाडिदियो।
    उक्त नाकाबाट दैनिक काम गर्ने मजदूरहरू आउनेजाने गर्दा रहेछन्। यहाँबाट आउनेजाने साइकल र पैदल यात्रीको त लाइन नै लाग्ने रहेछ। यही अवस्था हुने हो भने वीरगंज मुख्य नाकामा कडाइ गरेर केही हुँदैन। भारतमा सङ्क्रमणको गति निकै तीव्र छ। नाकामा यसरी नै खुला हुने हो भने भोलि फेरि पर्सा जिल्ला ‘रेड जोन’मा पर्छ। स्थिति पुनः भयावह हुन सक्छ। सरकार, सम्बन्धित निकाय र यस क्षेत्रका नागरिकले समयमा ध्यान दिनुपर्ने अति आवश्यक देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस