प्रस, गरुडा, २ पुस/
मानिसमा अनेक प्रतिभा हुन्छन् । कहिलेकाहीं निकै साधारण लाग्ने प्रतिभाको उपयोगले पनि उसलाई नाम, मान र पहिचान दिन सक्छ । धनगढीका मनोज चन्दको हस्तलेखन कलाले यी सबै कुरा दिएको छ ।
विभिन्न विद्यालयमा पुगेर आफूले दाहिने हातले सुल्टो र उल्टो, देबे्र हातले उल्टो र सुल्टो, दुवै हातले एकैचोटि उल्टो र सुल्टो लेखेर विद्यार्थीहरूमाझ आफ्नो हस्तलेखन कला प्रदर्शन गर्दछन् । यसै गरी कुहिनामा कलम च्यापेर, मुखमा कलम च्यापेर र खुट्टाले कलम च्यापेर पनि सजिलै हस्तलेखन गर्न सक्छन् । एकै हातमा तीनवटा कलम समातेर चन्दले एकैपटक बोर्डमा लेख्दा विद्यार्थीहरू दङ्ग पर्नु स्वाभाविक हो ।
देवनागरी लिपिमा नेपाली र रोमन लिपिमा अङ्ग्रेजी दुवै भाषामा एक साथ फटाफट वर्ण, अक्षर र वाक्य लेखेर विद्यार्थीलाई बिस्मित पार्दै चन्द भन्छन्– हरेक व्यक्तिमा प्रतिभा हुन्छ, त्यसलाई आफूले चिनेर उपयोग गर्नुपर्दछ । कुनै पनि मानिस प्रतिभाविहीन होइन र कुनै पनि प्रतिभा सानो भन्ने हुँदैन ।
शुक्रवार गरुडामा आफ्नो हस्तलेखन कलाको जादू देखाएका चन्दले अहिलेसम्म ३ हजार ६०० भन्दा बढी विद्यालयमा पुगेर आफ्नो प्रतिभाको प्रदर्शन गरिसकेको बताएका छन् । नेपालको ७२ जिल्लामा आफू यही प्रतिभा देखाउँदै पुगिसकेको बताउने चन्दले विश्वका विभिन्न २५ मुलुकमा आफू पुगेर आफ्नो प्रतिभाको प्रशंसा प्राप्त गरेको सगर्व सुनाउँछन् ।
विद्यार्थीका माझमा कला प्रदर्शन गर्दै कुनै बाध्यात्मक अवस्था होइन तर पाँच/दश रुपैयाँ जम्मा गरेर आफूलाई दिन बडो मुश्किलले भन्छन् । त्यही रकमले आफू एकजना साथीका साथमा देशका कुनाकुना र विदेशमा पनि पुगिरहेको बताउँदै चन्दले बालबालिकालाई समयमैं आफ्नो प्रतिभाको पहिचान गरेर आफूलाई अरूसमक्ष चिनाउन आग्रह पनि गर्दछन् ।
अभ्यास गर्दागर्दै आफूले अनेक किसिमले लेख्न सिकेको बताउँदै चन्दले सफल हुन अभ्यासले सबैभन्दा महŒवपूर्ण भूमिका खेल्ने बताए ।