प्रस, निजगढ, १ पुस/

निजगढ नगरको फोहोरको थुप्रो डम्पिङ साइटमा आगो लगाएर नष्ट गरेसँगै धूवाँले स्थानीयवासीलाई सास्ती भएको छ ।

निजगढ नगरको हाटबजार, चोक, घरदैलोबाट निस्किएका फोहरजन्य वस्तुलाई मानवीय तथा वातावरणीय असर नपर्ने गरी उचित व्यवस्थापन गर्ने जिम्मा लिएको ग्रीन क्लिन सिटी संस्था, हेटौंडाले फोहोरको उचित व्यवस्थापन नगर्दा धूवाँले निजगढ नपाको आर्यघाट क्षेत्र, बकैयाटोल, नेवार टोल, क्रसर टोल, शान्तिटोल, बजार क्षेत्र बुद्धचोक, शहीद चोक, भण्डारी टोल, औतार टोल हुँदै हावाको बहावमा निजगढ नगर धूवाँले ढाकिने क्रम बढेको छ । उक्त प्रदूषणलाई नियन्त्रण गर्न निजगढ नपाको वारुण यन्त्रको प्रयोग गरी बिहीवार साँझबाट आगो निभाउने प्रयास गरिएको निजगढ नपाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।

सो फोहोरमा लगाइएको आगो निभाउन सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढका तीनजना प्रहरी जवानसमेत खटिएका छन् । ग्रीन क्लिन सिटी संस्था, हेटौंडाले निजगढ नगरको फोहोरको उचित व्यवस्थापन गर्न केही महीनाअघि ५० लाख रुपैयाँमा निजगढ नपासँग सम्झौता गरेको सूचना अधिकारी घिमिरेले बताए । सो सम्झौता रकम अनुसार सो संस्थाले पाँच वर्षसम्म फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । तर यस संस्थाले फोहोर व्यवस्थापन गर्न निजगढ नपासँग सम्झौता गरे पनि पुरानै शैलीमा आगो लगाइ नजीकैको मानवबस्ती, वनक्षेत्र, वातावरणमा प्रदूषण फैलाइरहेको छ ।

फोहोरमा रहेका हानिकारक प्लाष्टिक, मरेका गाईभैंसी, कुकुरका सिनोलगायत स्वास्थ्यका लागि हानिकारक वस्तुलाई जलाइ वातावरण दूषित बनाइएको छ । हामीले फोहोरको उचित व्यवस्थापन गर्न भनेर उक्त संस्थालाई जिम्मेवारी दिएका हौं । प्रदूषण फैलिने गरी फोहोर जलाएर नष्ट गरेपछि निजगढ नपाले ग्रीन क्लिन सिटी संस्था, हेटौंडालाई पत्राचार गरेको निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए । “हामी छिट्टै फोहोरको उचित व्यवस्थापनमा लाग्छौं,” उनले भने ।

निजगढ नपाको एकमात्र वारुण यन्त्रलाई उक्त डम्पिङ साइटको फोहोरको थुप्रोमा लगाइएको आगो पूर्णरूपमा नियन्त्रणमा लिन शुक्रवार दिनभर लाग्ने अनुमान वारुण यन्त्रका चालक अर्जुन लामाले गरे । फोहोरको आगो निभाउँदा आँखा पोल्ने, श्वासप्रश्वास लिन समस्या हुने गरेको त्यहाँ खटिएका सशस्त्र प्रहरीहरूले बताए ।

निजगढ नपाले बकैया खोलाको पुलदेखि दक्षिणतर्फ करीब तीन सय मिटर दक्षिण र राष्ट्रिय वन क्षेत्रनजीकैको बकैया खोलाबगरको उकास क्षेत्रमा फोहोर थुपार्न डम्पिङ साइट बनाएको छ, जुन कानूनविपरीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here