- विश्वराज अधिकारी
आर्थिक विकासको सन्दर्भमा हामी निकै पछाडि परेपछि हामीले हाम्रो आर्थिक विकासप्रति धारणा परीक्षण गर्नु र त्यस उपर चर्चा–परिचर्चा गर्नु उपयुक्त हुन आउँछ । आउनुहोस् यस आलेखमार्फत त्यस उपर परिचर्चा गरौं ।
आर्थिक विकासप्रति हाम्रो धारणा नितान्त गलत छ । समग्रमा भन्ने हो भने दक्षिण एशियामा नै आर्थिक विकासप्रति गलत जनधारणा छ । आर्थिक विकासका लागि हामी कर्ता (Actor) पहिले पक्ष वा स्वयं वा स्थानीयलाई मान्दैनौं । कुनै पनि किसिमको आर्थिक विकासको लागि हामी कर्ता दोस्रो पक्ष वा बाह्य शक्ति वा सरकारलाई मान्छौं । आर्थिक विकासमा स्थानीयको भूमिका शून्य बराबर देख्छौं । र हाम्रो यस्तो अवधारणा एक वा दुई सय वर्ष पुरानो होइन, हजारौं वर्ष पुरानो हो । हाम्रो आर्थिक विकासको प्रमुख बाधक पनि यही जनधारणा हो ।
आर्थिक विकासको लागि स्थानीयलाई जिम्मेवार नमान्ने अवधारणाको विकास कहिलेदेखि भएको हो ? सर्वप्रथम यसबारे चर्चा गरौं । यो अवधारणाको विकास राजारजौटाहरूको पालादेखि भएको हो । दक्षिण एशियाका सबै देशमा राजा महाराजा थिए । अर्थात् दक्षिण एशिया हजारौं राज्य वा राष्ट्रहरूमा बाँडिएको थियो । नेपालमा पनि अनेक राजारजौटा थिए । छिमेकी मुलुक भारत, जुन अहिले एक सङ्गठित राष्ट्रको रूपमा रहेको छ, अनेक राष्ट्रहरूको सङ्गठित समूह हो। भारतको त वर्तमान प्रत्येक राज्य, उत्तर प्रदेश होस् वा महाराष्ट्र, भित्र अनेक राष्ट्र थिए । ती राष्ट्रहरूलाई अनेक राजाहरूले नेतृत्व प्रदान गर्थे । राजाहरू आआफ्ना देशका प्रमुख शासक हुन्थे। देशको सुरक्षा र आर्थिक विकासमा राजाहरूको मात्र केन्द्रीय वा महŒवपूर्ण भूमिका हुन्थ्यो । यस्तै स्थिति नेपालको उत्तरी छिमेकी चीन, मङ्गोलियासम्म थियो ।
दक्षिण एशिया र प्रमुखरूपमा भारत र नेपालका नागरिक लामो समयसम्म राजाको अधीनमा रहेको ताजा इतिहास छ । नेपालमा त २०६३ सालसम्म पनि राजतन्त्र थियो । भारतमा सन् १९४७ मा राजतन्त्र (विभिन्न राज्यहरूमा) समाप्त भए पनि १९६० को दशकसम्म केही स्थानहरूमा राजतन्त्र सक्रिय थियो । दक्षिण एशियामा लामो समयसम्म राजतन्त्र रहेको र राजतन्त्रको अवधिभर प्रत्येक स्थानका नागरिकले आफ्नो स्थानको आर्थिक विकासको लागि राजा वा राजदरबारलाई जिम्मेवार मानेको हुनाले यो क्षेत्रमा आर्थिक विकासको गति अति नै सुस्त हुन पुगेको हो ।
राजतन्त्र रहेको बेला स्थनीय विकासका लागि स्वयं त्यहींका बासिन्दा कहिले पनि सक्रिय भएनन् । हुनत राजतन्त्रको बेला स्थानीय बासिन्दालाई स्थानीय स्रोत एवं साधन प्रयोग गर्ने अधिकार पनि थिएन । राजा वा राजदरबारको आदेशविना कसैले कुनै पनि किसिमको विकास एवं निर्माणका कार्यहरू गर्न पाउँथेनन् । यसरी उक्त सक्रिय राजतन्त्र वा विभिन क्षेत्रहरू राजाद्वारा नियन्त्रित भएको बेला विकासका लागि नीति, योजना र स्रोत आदि राजदरबारबाट आउने परिपाटी थियो । जनसहभागिता शून्य थियो ।
तर आश्चर्यजनक कुरा त के रह्यो भने दक्षिण एशियाका विभिन्न क्षेत्रहरूबाट राजतन्त्र अन्त्य भए तापनि जनताको मनोमस्तिष्कबाट राजतन्त्र अन्त्य भएन । जनताले यो पछिल्लो राजतन्त्र समाप्त भएको स्थितिमा पनि, स्थानीय विकासको लागि जिम्मेवार केन्द्रलाई, केन्द्रीय सरकारलाई नै देख्यो, आफ्नो भूमिका देखेन । स्थानीय विकासमा आफ्नो भूमिका नदेख्ने र केवल केन्द्र वा सरकारलाई देख्ने रोगले दक्षिण एशियालाई अहिले पनि छाडेको छैन । नेपालमा त झन् यो रोगले जरा नै गाडेको छ । हामी कहाँ आफ्नो घरिभित्रको फोहर सडकमा फालेर त्यो फोहर सरकारले सोहोर्नुपर्ने माग गर्नेहरूको कमी छैन ।
भारतमा चलेको लामो समयसम्मको अङ्ग्रेजहरूको शासनले पनि आर्थिक विकासमा स्थानीय भूमिकालाई शून्य पार्ने कार्य ग¥यो । हुनत अङ्ग्रेजको भूमिका पनि नियन्त्रणकारी थियो । स्थानीय स्रोत र साधनमाथि उनीहरूको पूर्ण नियन्त्रण थियो । यसरी अङ्ग्रेजहरूको नियन्त्रणकारी भूमिकाले पनि दक्षिण एशियाका नागरिकलाई विकासको लागि कर्ता स्थानीय स्वयं हो भनी सोच्ने अवसर दिएन । तर दक्षिण एशियाबाट अङ्ग्रेजहरू गएको वर्षौं भए तापनि विकासका लागि केन्द्रलाई जिम्मेवार देख्ने मनोविज्ञान अहिले पनि दक्षिण एशियाबाट गएको छैन ।
विश्व जनसङ्ख्याको ठूलो हिस्सा रहेको दक्षिण एशियामा अति गरीबी व्याप्त हुनुको प्रमुख कारण आर्थिक विकासको लागि स्थानीयले आफूलाई कर्ता नदेख्नु हो । यो कारणले गर्दा दक्षिण एशियामा व्याप्त गरीबी सोचे अनुसार कम हुन सकेको छैन । भारतमा अहिले पनि करोडौंको सङ्ख्यामा नागरिक झोपडपट्टीमा बस्नुपर्ने स्थितिमा कमी आउन सकेको छैन ।
नेपालमा त आर्थिक विकासका लागि स्थानीयले आफूलाई केन्द्रीय वा कर्ताको भूमिकामा नदेख्ने भावनाले त जरा नै गाडेको छ । यो भावनाले अहिलेसम्म पनि हामीलाई डरलाग्दो गरी सताएको छ ।
आर्थिक विकासको अवधारणले भन्छ– स्थानीय विकासको लागि जिम्मेवार पक्ष स्थानीय स्वयं हो । स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोगका लागि विभिन्न किसिमका कार्यक्रम, नीति, योजना आदि निर्माण गर्ने र तिनको उपलब्धिपूर्ण कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय बासिन्दाकै हो, केन्द्रको होइन । स्थानीयले नै प्रमुख जिम्मेवारी लिनुपर्छ ।
उदाहरणका लागि आर्थिक विकासको हिसाबले नेपालको कर्णाली क्षेत्र निकै पछाडि छ । तर यो क्षेत्रको आर्थिक विकासका लागि यस क्षेत्रका बासिन्दा नै सक्रिय हुनुपर्छ । यो क्षेत्रको विकासको लागि केन्द्र वा काठमाडौंलाई जिम्मेवार ठहर गरेर हुँदैन । र यस्तो किसिमको सोच राखेसम्म यो क्षेत्रको विकास हुन सक्तैन । यो क्षेत्रको विकासका लागि आवश्यक पर्ने कोषको सृजना पनि यस क्षेत्रकै बासिन्दाले गर्नुपर्छ । कर्णाली क्षेत्रका अनेक स्रोतको प्रयोग गरेर यस क्षेत्रका लागि निममित र भरपर्दो आय सृजना गर्ने कार्य केन्द्रको होइन, स्थानीयको हो । तर हामी कहाँ स्थिति विपरीत छ ।
राष्ट्रिय आर्थिक विकासका लागि आवश्यक अनेक महŒवपूर्ण पक्षमध्ये एउटा महŒवपूर्ण पक्ष, आयप्रति पनि हाम्रो अवधारणा उचित छैन । हामी आयको सृजनाकर्ता सरकारलाई देख्छौं । विकास एवं निर्माणका लागि कोषको निर्माण सरकारले गरिदेओस् भन्ने चाहना राख्छौं । विकास एवं निर्माणका लागि हामीलाई आवश्यक पर्ने कोष सरकारले उपलब्ध गराओस् भन्ने हाम्रो माग र चाहना रहन्छ ।
आय सृजना गर्ने कार्य जनताको हो, सरकारको होइन । सरकार माध्यम मात्र हो । अर्थात् नागरिकले भुक्तान गरेको कर नै राष्ट्र, राज्य वा सरकारको लागि आयको स्रोत हो । तसर्थ मौरीले मह सृजना गरेझैं नागरिकले पनि आय सृजना गर्नुपर्छ । राष्ट्रको लागि आय सृजना गर्ने प्रमुख दायित्व नागरिकको हो, स्थानीयको हो ।
नागरिकले कर भुक्तान गरेर स्थानीय एवं केन्द्रीय विकासका लागि आय सृजना गर्नुपर्छ । यस प्रकार राष्ट्रको लागि आवश्यक आय वा कोष सृजना गर्ने प्रमुख दायित्व नागरिकको हो, नेता, सरकारी कर्मचारी वा सरकारको होइन । नागरिकले निर्माण गरिदिएका कोषहरूको उचित प्रयोग होस् भनी निगरानी गर्ने कार्य मात्र सरकारको हो ।
नागरिक धनी भए मात्र देश पनि धनी हुन्छ । नागरिकले भुक्तान गरेको करको जगमा नै आर्थिक विकासका ठूला–ठूला संरचना आकाश छुनेगरी ठडिएका हुन्छन् ।
राष्ट्रको लागि आय सृजना गर्ने कार्य सरकारको होइन । तर गरीब राष्ट्रहरूमा सरकारले अनेक दाता राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घ–संस्था (विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष आदि) सँग आर्थिक सहयोग लिने गरेको र सो संस्थाहरूबाट प्राप्त कोषको उपयोग विकास एवं निर्माण कार्यमा गर्ने गरेकोले राज्यको लागि आय सृजना गर्ने कार्य सरकारको भन्ने धेरै व्यक्तिहरूमा अहिले पनि भ्रम छ । विकसित वा धनी राष्ट्रहरूले यस्ता सङ्घ संस्थाहरूबाट आर्थिक सहयोग वा ऋण लिंदैनन् र राष्ट्रका लागि आवश्यक पर्ने कोषको निर्माण स्वयं गर्छन् । र यस्ता कोषको निर्माण जनताले भुक्तान गरेको करबाट भएको हुन्छ ।
राष्ट्रको आर्थिक विकास जनताले भुक्तान गरेको करबाट नै हुन्छ । यस किसिमले, जनता नै राष्ट्रिय आर्थिक विकासको मूल स्तम्भ हो । यो नै आर्थिक विकासको मूल मन्त्र पनि हो ।