क्याप–हाइटियन/एएफपी
हाइटीमा मङ्गलवार भएको ठूलो ग्याँस ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरीबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो शहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो। प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुका साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँग भेटघाट गरेको बताइएको छ।
त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मदत गर्न आपत्कालीन कोषहरू खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गरेका छन्। विष्फोटमा वरपरका भवनहरू जलेर नष्ट भएका छन्। घटनास्थलमा भीड जम्मा भएका, केही मृतकहरूको शरीर झोलामा राखी सडकमा छोडिएका बताइएको छ।
“हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,” डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भनेका छन्। सरकारी अधिकारीहरूले नजीकैका भवनहरूमा पीडितहरूको खोजी भइरहेको बताएका छन्। कैयौं मानिसलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्दै जलेका ती व्यक्तिहरूको पहिचान गर्न असम्भव भएको पनि बताएका छन्।
मोटरसाइकल र ट्याक्सीलाई जोगाउने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ। हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ। रासस