प्रस, सिम्रौनगढ, २८ मङ्सिर/

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मङ्गलवार बाराको सिम्रौनगढ तरकारी बजारस्थित  पार्टी  कार्यालयको उद्घाटन भएको छ।

उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व प्रदेश मन्त्री एवं प्रदेश नं २ का अध्यक्ष जीतेन्द्र सोनलले पहिले हामी के हौं, हाम्रो  पहिचान के हो बुझ्नुपर्छ भने।

हाम्रो नामको पछाडि यादव, शर्मा, कानू, नुनिया, मुसहर, पासवान आदि थर रहेका छन् र पहाडतिर हामीलाई मधेसी भनेर बोलाइने हुनाले यही पहिचानलाई कायम गर्न उनले जोड दिए। उनले मधेसी हाम्रो पहिचान हो र हामी पराल बनेर होइन, डोरीझैं एकतामा रहे हाम्रो प्रगति निश्चित छ भने।

त्यस्तै, अर्का वक्ता विशिष्ट अतिथि केन्द्रीय  सदस्य  श्याम गुप्ताले सिम्रौनगढ ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल हुनुका साथै योद्धाहरूको पनि भूमि  भएको बताए। उनले लोकतान्त्रिक आन्दोलनदेखि मधेसी आन्दोलनसम्म यहाँका जनताको अग्रगामी भूमिका रहेको बताए।

लोसपा सिम्रौनगढ नगर समिति अध्यक्ष किशोरी साह कलवारको अध्यक्षता भएको कार्यक्रममा जियालाल ठाकुर, राजेश यादव, परमानन्द मुखिया, सञ्जय यादव, दिनेश कुशवाहा, डा रामबाबू कुशवाहालगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७० जना लोसपामा प्रवेश गरे। नवप्रवेशीहरूलाई प्रमुख अतिथि जीतेन्द्र सोनलले फूल, माला, अबीर लगाइ स्वागत गरेका थिए।

कार्यक्रममा असहाय, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलासहित २२० जनालाई कम्बल दिएर सम्मान गरिएको थियो।

नेता सियाराम यादवले सञ्चालन गरेको कार्यक्रममा स्वागत नेता रामबाबू प्रसाद यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here