राधेश्याम पटेल, परवानीपुर, २४ मङ्सिर/
वीरगंज महानगरले भत्काएको नहरी (सानो नहर)लाई नारायणी सिंचाइले मरम्मत गरी पुरानै संरचनामा फर्काएको छ । वीरगंज–१५ लक्ष्मनवा (नौतन)देखि नेशनल मेडिकल कलेज भेडियाहीसम्म साढे ४ किलोमिटर लम्बाइ र सर्भिस रोडसहितको ४५ फिट चौडा नहरीलाई मरम्मत सम्भार र सफाइ गरी पुरानै संरचनामा फर्काइएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजले जनाएको छ ।
पछिल्लो चार दिनदेखि एक्साभेटर लगाएर ब्लक नं ७ को मेन सेकेन्डरी क्यानल (एमएससी) नं २ को नहरीलाई गहुँबाली सिंचाइको लागि तयार पारिएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, गण्डक, वीरगंजका प्रमुख प्रसून मिश्रले जानकारी दिए ।
हजारौं बिघा सेवा क्षेत्र रहेको उक्त नहरीलाई वीरगंज महानगरले भत्काएर सडक बनाउन खोजेको थियो । एक महीनाअघि नहरी भत्काएर सडक बनाउने ठेकेदारमार्फत काम थालेपछि नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले विरोध जनाएको थियो ।
विनासहमति अगाडि बढाइएको काममा रोक लगाउन माग गर्दै सिंचाइ कार्यालयले सरोकारवाला निकायलाई पत्राचार गरेको थियो । कार्यालयका सूचना अधिकारी एवं इन्जिनीयर सुबोध कुशवाहाले आफूहरूको सहमतिविना महानगरले गण्डक नहरको संरचनालाई भत्काएर गैरकानूनी काम गरेकोले काम रोक्न वीरगंज महानगर, जिल्ला प्रशासन कार्यालय, सिंचाइ मन्त्रालय तथा विभागलाई जानकारी गराइएको बताए ।
नहरी पुरानो संरचनामा फर्केपछि सो भेगका किसानले गहुँबालीमा सहजै सिंचाइ सुविधा पाउने भएका छन् । सिंचाइ सुविधाबाट वञ्चित भएपछि पुनः प्राप्तिले किसानमा खुशी छाएको स्थानीयले बताएका छन् ।