प्रस, निजगढ, २४ मङ्सिर/

निजगढ नपा–४ बागदेवस्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा उपभोक्ता भेला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष जयराम कुमरले सामुदायिक वन समूहको कार्ययोजना अनुसार आम उपभोक्तालाई समेट्दै वन संरक्षणमा अघि बढ्न सुझाव दिए । वन समूहमा गरिने जुनसुकै कार्यमा पनि पारदर्शितालाई ध्यान दिंदै दिगो योजनाका साथ अघि बढ्नसमेत उनले आग्रह गरे । जबसम्म सामुदायिक वनबाट उपभोक्ताहरूले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पाउँदैनन्, तबसम्म वन संरक्षणमा उपभोक्ताहरूको सक्रिय सहभागितामा कमी आउने बताउँदै वन समूहका पदाधिकारीहरूले आम उपभोक्ताहरूलाई हाम्रो कार्य र हाम्रो वन समूह भन्ने भावना पैदा हुने गरी काम गर्न प्रमुख अतिथि कुमरले सुझाए ।

डिभिजन वन कार्यालय, बाराबाट सिमसार क्षेत्र व्यवस्थापनका लागि प्राप्त ३० लाख रकमबाट पोखरी निर्माण सम्पन्न र २० लाखबाट तारबारसहित चुरे क्षेत्रमा वृक्षारोपण कार्य सम्पन्न भएको जानकारी दिइएको थियो ।

केही साताअघि नवगठित वन उपभोक्ता समूहका पदाधिकारीहरूले सामुदायिक वन समूहमा भए गरेका कार्यहरूका बारे आम उपभोक्तालाई जानकारी दिने र अन्य कामका साथै आर्थिक पारदर्शितासमेत होस् भन्ने उद्देश्यले सो सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष एवं बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरलाल सिङ्तानले बताए ।

वन समूहलाई सही दिशामा अघि बढाउन डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालयको महŒवपूर्ण भूमिका रहने बताउँदै सम्बन्धित निकायहरूबाट सकारात्मक र रचनात्मक सहयोगी भूमिका भई आम उपभोक्तालाई समेट्दै वन क्षेत्रको संरक्षण, विकासमा निरन्तर सक्रिय भई अघि बढ्न वक्ताहरूले सुझाव दिएका थिए । कार्यक्रममा तामागढी सबडिभिजन वन कार्यालयका निमित्त प्रमुख भूषण राम, वन समूहका पूर्वअध्यक्ष सुदर्शन लामिछाने, पत्रकार गोकुल घोरसाइने, पत्रकार जीतलाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

डिभिजन वन कार्यालय, बाराका सहायक वन अधिकृत जवाहरलाल कुर्मी र सहायक वन अधिकृत आबिद हुसेनले सिमसार क्षेत्र व्यवस्थापन कार्यक्रम अन्तर्गत भर्खरै सम्पन्न पोखरी र चुरे क्षेत्रमा तारबारसहित वृक्षारोपण सम्पन्न गरिएको क्षेत्रको अनुगमनसमेत गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रमुख एवं प्रतिनिधि, समाजसेवी, उपभोक्तालगायतको सहभागिता थियो । उक्त वन समूहका यशोदा बुढाथोकीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन रामकुमार सिग्देलले गरेका थिए । सो कार्यक्रम निजगढ नपा–४ स्थित शहीद हीरालाल पार्कको सभाहलमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here