प्रस, वीरगंज, २३ मङ्सिर/
जिल्ला खोप समन्वय समिति, पर्साले जिल्लामा खोप सञ्चालनको अवधि दुई दिन थप गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको समितिको बैठकले दुई दिन अवधि थप गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले जानकारी गराएका छन् ।
कोभिड–१९ कोरोनाविरुद्ध १८ वर्ष उमेरमाथिरुपैयाँका व्यक्तिहरूको लागि समितिले मङ्सिर २२, २३ र २४ गते ३ दिन तोकी जिल्लाभरि खोप अभियान सुरू गरेको थियो । आजको बैठकले २५ र २६ गते दुइ दिन थप गरी खोप दिने अवधि थप गरेपछि खोप अभियान सञ्चालन अवधि पाँच दिन पुगेको खोप अधिकृत ठाकुरले बताए ।
बैठक जिल्ला खोप समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालको अध्यक्षतामा भएको हो । वीरगंज महानगरपालिका लगायत जिल्लाका विभिन्न पालिकाहरूस्थित खोप केन्द्रमा कोरोना सङ्क्रमण विरूद्ध खोप लगाउनेहरूको भिड बढेको छ । नेपालमा समेत ओमिक्रोन नामक कोरोनाको नयाँ भाइरस पुष्टि भएसंगै यस अघि खोप नलगाएकाहरूमा खोप लगाउने चटारो बढेको कारण खोप केन्द्रमा भिड बढेको हो । सोही कुरालाई ध्यानमा राखेर खोप अवधि थप गरिएको खोप समन्वय समितिका पदाधिकारीहरूले बताएका छन् ।
वीरगंज महानगरपालिकाका ३२ वटै वडाका खोप केन्द्रहरूका साथै वीरगंजको घण्टाघर स्थित प्रहरी विट, आदर्शनगर स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा खोप केन्द्र स्थापना गरी खोप अभियान सञ्चालन गरिरहेको वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । ५ दिनसम्म जारी रहने खोप अभियानमा महानगरपालिका भित्र मात्रै ३७ वटा खोप केन्द्र स्थापना गरिएको र महानगरपालिकाले हालै खोप भण्डारण कक्ष समेत सञ्चालनमा ल्याएको कारण खोपको व्यवस्थापन सहज भएको महानगर नगर प्रमुख सरावगीले बताए ।
महानगरलगायत जिल्लाका १४ वटा पालिकाहरूमा १२९ वटा खोप केन्द्राबाट खोप अभियान सञ्चालन गरिएको जनस्वस्थ्य खोप अधिकृत ठाकुरले बताएू सवै खोप केन्द्रहरूमा भेरोसेल खोपको पहिलो र दोस्रो दुवै डोज खोप उपलब्ध हुने साथै मंसिर २४ गते शुक्रवार देखि सवै केन्द्रमा अस्ट्रजेनिकाको कोभिसिल्ड खोप दोस्रो डोज पनि उपलब्ध हुने उनले जानकारी गराएका छन् ।