प्रस, वीरगंज, २३ मङ्सिर/
झापा जिल्लाबाट दुई वर्षअगाडि शिशुसहित बेपत्ता भएका दुईजना युवतीको भारतबाट उद्धार गरिएको छ । झापाकी १८ वर्षीया युवती आफ्ना नाबालक छोरा र १९ वर्षीया युवतीसहित बेपत्ता भएकी थिइन् । उनीहरूको खोजतलाश गर्ने क्रममा भारत बिहारको छौडादानोबाट उद्धार गरी बिहीवार वीरगंज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
उनीहरूलाई राम्रो जागीर लगाइ दिने र आकर्षक सेवासुविधासहितका पारिश्रमिक दिने प्रलोभनमा पारी तस्कर समूहले भारत पु¥याएको पीडितको बयानमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय, पर्सा, माइती नेपाल र भारतीय काउन्टर पाट्र्ससँगको समन्वयमा दुई युवती, दुई बालकसहित चारैजनाको उद्धार गरिएको प्रवक्ता खनालले बताए ।
महिलाद्वयलाई सूचना सामग्री तथा मोबाइलको समेत प्रयोग गर्न नदिई एउटा अँध्यारो र अन्य मानिसको प्रत्यक्ष सम्पर्कभन्दा भिन्न कोठामा राखिएको अवस्थामा फेला पारिएको उद्धार टोलीका सदस्यहरूले बताएका छन् ।
प्रलोभन दिएर लैजाने व्यक्तिहरूले भारतीय आर्केस्ट्रा सञ्चालकलाई बेचेको र आर्केस्ट्रा सञ्चालकले समयमा पारिश्रमिक र खाना लगाउनसमेत राम्रोसँग नदिने साथै आर्केस्ट्राको काम पनि कहिलेकाहीं मात्रै हुने गरेको पीडित महिलाद्वयले बताएकी छन् ।
हाल उनीहरूको वीरगंजस्थित माइती नेपालको आश्रममा राखी स्वास्थ्य चेकजाँच एवं मनो परामर्श सेवा प्रदान गरिरहेका छन् । बेचबिखनमा संलग्नहरूको खोजी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।