चिरञ्जीवी सापकोटा, ठोरी, २२ मङ्सिर/

ठोरी गाउँपालिका वडा नं २ को सीतागुफामा रामसीता विवाहोत्सव मनाइएको छ । मङ्सिर शुक्ल पञ्चमीको दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रसित जनकपुत्री सीताको विवाह भएको दिन पारी ठोरीमा प्रत्येक वर्ष विवाह उत्सव मनाउँदै आइएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरीमा भएको भनी अभिव्यक्ति दिएपछि त अत्यन्तै हर्षोल्लासका साथ विवाहोत्सव मनाउने गरेको रामजन्मभूमि क्षेत्र विकास समितिकी कोषाध्यक्ष गीता विष्टले जानकारी दिइन् ।

आज विवाहपञ्चमीको अवसरमा बिहानदेखि नै रामसीताको पूजा गर्न सीतागुफा परिसरमा भक्तजनहरूको भीड लागेको थियो । धार्मिक यज्ञ अनुष्ठानको आयोजना गरी सीतागुफामा रामसीता विवाहोत्सव मनाइएको समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिइन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भनी अभिव्यक्ति दिए तापनि मन्दिर निर्माण कार्यमा ठोरीलाई उपेक्षा गरी अन्यत्र बनाउन लागेकोप्रति ठोरीवासीको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here