काठमाडौं, २२ मङ्सिर/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १/१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो ।
खेलको सुरुआती ५३औं सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लिएको थियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रिघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
यता पुलिस क्लबले भने खेलको दोस्रो मध्यान्तरमा एक गोल फर्काउँदै खेललाई १/१ गोलको बराबरीमा ल्यायो । खेलको ६०औं मिनेटमा रवि पासवानको पासमा सुमन लामाले करीब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।
यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्कतालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, हिमालयन शेर्पाले तीन खेलमा दुर्ई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२औं स्थानमा छ ।