प्रस, विन्ध्यवासिनी, २२ मङ्सिर/
जगरनाथपुर गाउँपालिका–६ सन्ठीकी १८ वर्षीया किशोरीलाई दुर्ईजना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको किशोरी र उनका परिवारजनले आरोप लगाएका छन् । किशोरी आफैंले बलत्कार भएको भन्दै इलाका प्रहरी कार्यालय, पोखरियामा जाहेरी दिएकी थिइन् । त्यसपछि उनीसँग सोधपूछ गरी स्वास्थ्य परीक्षण गराउन जाँदा उनीसमेत परिवारजनलाई धम्की दिने काम शुरू भएको छ ।
गाउँमा बस्न दिंदैनौं, घर जलाइ दिन्छौं, ज्यान मारिदिन्छौं जस्ता धम्की दिएर स्वास्थ्य परीक्षण नगराउन युवक पक्षका केही व्यक्ति लागिपरेको बताइन्छ । बलात्कारको आरोप लागेका युवक पक्षबाट स्थानीय नेताहरूले पनि किशोरी र उनका परिवारजनलाई आर्थिक प्रलोभन र धम्की दिइरहेको जनाइएको छ । स्वास्थ्य परीक्षण यसै कारण नगरेको किशोरी पक्षको भनाइ छ ।
किशोरीलाई गाउँँकै दुईजना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।
किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे पटेर्वासुगौली गाउँपालिका–५ स्थित नेरामावि, निचुटामा पढ्न जाने क्रममा किशोरीलाई बाटोबाट दुईजना युवकले नियन्त्रणमा लिएर वीरगंजको घडीअर्वास्थित डेरामा राखेका थिए । युवतीलाई डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक–पटक बलात्कार गरेको आरोप छ ।
मङ्सिर १३ गते बिहान ३ बजे किशोरी वीरगंजस्थित डेराबाट भागेर अभिभावककहाँ पुगेको बताइएको छ । सोही दिन इलाका प्रहरी कार्यालय, पोखरियामा युवकद्वयविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी लिई अनुसन्धान दर्ता प्रक्रिया अगाडि बढाएको किशोरीका बुबाले बताए । प्रहरीलाई घटनाबारे जानकारी गराएको एक हप्तापछि आरोपित दुवै युवकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पोखरियाको हिरासतमा राखिएको थियो ।
प्रहरी निरीक्षक दीपक थापाका अनुसार मङ्सिर १३ गते किशोरीका बुबाले अपहरणको मात्रै उजूरी लिएर आएकाले त्यति बेला अपहरणसम्बन्धी अनुसन्धान गर्नुपर्ने भएकाले दुवै युवकलाई तारिखमा रिहा गरेको बताए । तर मङ्गलवार बलात्कार नै भएको भनेर जाहेरी दिएकाले स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल पठाएको बताए । उनले किशोरीले स्वास्थ्य परीक्ष्Fण गराउन नमानेपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएको बताए ।