लन्डन, २२ मङ्सिर/सिन्ह्वा
बेलायतमा मङ्गलवार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले मङ्गलवार दिएको जानकारी अनुसार यो भाइरसका १०० जनाभन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस विषयमा मङ्गलवार यहाँको मन्त्रिपरिषद्को बैठकमा जानकारी गराएका थिए ।
साथै प्रधानमन्त्री जोनसनले योसमेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएको जानकारी पनि दिएका थिए । उनले बेलायतका स्वास्थ्य अधिकारीहरूले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्याङ्कले यो भाइरस यसअघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएको बताएका थिए।
हालै अफ्रिकामा देखिएर विश्वका अरू देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिन मात्र अघि देखिएको थियो । प्रधानमन्त्री जोनसनले देशव्यापीरूपमा नागरिकहरूलाई अघिल्लो डेल्टाभन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।