सप्तरी, २२ मङ्सिर/रासस

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँँ नौ वर्षपछि पक्राउ परेका छन् । सिराहाको सखुवा ननकारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकीछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साबिक टिकुलिया गाविस–६ घर भई कुशहा–६ बस्ने सकिल हुसेन मियाँँ र उनका साथी गुल्जार मियाँँ तथा मस्तकिम मियाँँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरूमाथि शृङ्लाबद्ध बलात्कार र हत्याको आरोप छ।

सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो । सकिलका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन् ।

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सकिल र गुल्जारलगायतले साबिक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेर आफ्नै कुखुरा फार्मनजीकै गाडेका थिए । साबिक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेको आरोप छ ।

सकिलमाथि सप्तरीको मल्हनियाँका आरुल मियाँँ र पाण्डव पासवानको हत्या गरेको आरोप लागेको थियो । विसं २०६८ मा सकिल पक्राउ पनि परे । यद्यपि आरोप पुष्टि हुन सकेन । आरुलका दाइ कलामुद्दीनको जाहेरी अनुसार प्रहरीले २०६८ मङ्सिर ४ गते सकिललाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतको २०६९ चैतको आदेश अनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आशय बाँझिएको फाइदा सकिललाई पुग्यो । उनले सफाइ पाए । प्रहरीले बरामद गरेको कङ्काल आरुल मियाँँको हो भन्ने प्रमाणित नभएकाले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ ।

सप्तरीदेखि सुनसरीसम्मका नौजनाको शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रूपमा सकिललाई पायो । आरुल मियाँँ र पाण्डव पासवानको हत्या आरोपमा पक्राउ परे पनि उम्केका सकिलले एकपछि अर्काेगरी नौजनाको हत्या गरेको बताइएको छ ।

शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको प्रहरीले ठहर गरेको छ । एक हत्या अनुसन्धानमा प्रहरीले तीनजना महिला र तीनजना पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

सोही बेला पक्राउ परेकामध्ये सप्तरीको साबिक सारश्वर गाविस–४ का अल्लाउद्दीन मियाँँको बयानबाट प्रहरीले नौजनाको हत्या शृङ्खला फेला पारेको हो । सबै हत्याको ‘मास्टर माइन्ड’ सकिल हुसैन भएको प्रहरीको भनाइ छ । जसमा गुल्जार अल्लाउद्दीनसहितका व्यक्ति बराबर संलग्न रहेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here