संयुक्त राष्ट्रसङ्घ, २१ मङ्सिर/सिन्ह्वा
अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान गरिएको छ । यहाँ संयुक्त राष्ट्रसङ्घको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहायता प्रदान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसङ्घीय साझेदार निकायहरूले मानवीय सहायता वितरण कार्यको समन्वय गरिरहेका छन् ।
सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजारजनाले यस्तो सहायता प्राप्त गरेका हुन् । त्यसैगरी, कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करीब २ लाख ८४ हजारजनाले दुर्ई हप्तायतादेखि मानवीय सहायता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खानाहरू प्राप्त गरेका छन् ।
अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न दाता राष्ट्रहरूले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरू पठाइरहेका छन् । यी सामग्रीहरूमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरू रहेका छन् । यहाँका प्रायः सबै ३४ प्रान्तकै नागरिकहरूका लागि यो सामग्री पठाइएको हो ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ । यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रूपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका प्रायः सबै प्रान्तहरूमा अर्थात् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।
यहाँ इरान र चीनले पनि यस्तो सामग्री पठाएका छन् । इरान र चीनले खाद्य सामग्रीहरू अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत लगेका थिए । अफगानिस्तानका विद्रोही तालिबानीहरूले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ । रासस