काठमाडौं, २० मङ्सिर/रासस
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार उनले काङ्ग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भीडभाड नगर्ने बताएका हुन् । काङ्ग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एकपटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रहसमेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एकपटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे । आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै उनले आफू सभापति बन्ने यो मौका अन्तिमपटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए ।
प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरूबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए ।
काङ्ग्रेस महाधिवेशनः काठमाडौं आउन थाले प्रतिनिधि
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौं आउने क्रम शुरू भएको छ । पार्टीको १३औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महीनापछि हुन लागेको १४औं महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम शुरू भएको हो । जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरेको थियो ।
उक्त सम्मेलनलाई काङ्ग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रूपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्कप्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झन्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औं महाधिवेशन काठमाडौंमा हुँदैछ ।
काङ्ग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि शुरू केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम शुरू भएको हो । काङ्ग्रेसले १४औं महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बूकिङ गरिसकेको बताएको छ ।
मुलुक सङ्घीयतामा गएपछि काङ्ग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । काङ्ग्रेसको सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुन मगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।
यस्तै, ६० भन्दा बढी जिल्लाका जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ । काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउँछन्, “हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ,” उनी भन्छन् ।
काङ्ग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताए ।