काठमाडौं, २० मङ्सिर/रासस

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्धरूपमा प्रयास थालेको छ ।

प्रमुख औद्योगिक कोरिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना कार्यान्वयन भएको खण्डमा हाल निर्माणाधीन आयोजनाबाट उत्पादन हुने सबै ऊर्जाको समेत खपत हुनेछ । लामो समयदेखि उद्योगी–व्यवसायीले थप बिजुली माग गरे पनि पूर्वाधारको अभावमा उपलब्ध हुन सकेको थिएन। सोही समस्या समाधानका लागि प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाएको छ ।

प्राधिकरणले भैरहवा–बुटवल, बारा पर्सा र हेटौंडा औद्योगिक कोरिडोरका उद्योगले मागे जति बिजुली उपलब्ध गराउने संरचना निर्माण गर्ने योजनाका साथ अभियान सञ्चालन गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । पछिल्लोपटक बारा/पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगलाई तत्काल २०० मेगावाटसम्म थप विद्युत् दिन सक्ने गरी पूर्वाधार तयार भएको छ ।

प्राधिकरणका अनुसार अशोक स्टीललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिनेछ । ट्रान्सफर्मर थप भएपछि उद्योगले मागेजति विद्युत् दिन सकिनेछ ।

जगदम्बा स्टीलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महीनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्शन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइनेछ । हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेशनबाट तत्काल विद्युत् दिन सकिने छ। नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ ।

बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिनेछ । सेजमा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेशन निर्माण गर्न लागिएको छ । प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा/पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा पाँच वर्षभित्रमा थप दुर्ई हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउने छ ।

सो औद्योगिक कोरिडोरमा पर्ने सिमरा, निजगढ, वीरगंज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले व्यापकरूपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । प्राधिकरणले मुख्यरूपमा उद्योगलाई मागेजति भरपर्दाे र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ ।

प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि सारेको छ । सिमरा र वीरगंज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिनेछ ।

निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेशन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेशन निर्माण गरिनेछ । प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगलाई तत्काल दुर्ई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टील उद्योगले क्षमता विस्तारका लागि थप विद्युत्को माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here