नयाँ दिल्ली, १९ मङ्सिर/एएनआई
भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुर्ई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतवार जारी गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिवार एकै दिनमा दुर्ई हजार ७९६ जनाको मृत्यु भएको यो सङ्ख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पुरानो सङ्ख्यालाई पनि मिलाइएको जनाइएको छ ।
यद्यपि हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतवार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कुल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको एक प्रतिशतभन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।
गएको एक दिनमा ६ हजार ९१८ जना कोरोनामुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोनाबाट निको भएका छन् । कोरोनामुक्तको यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतवार देशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
भारतमा शनिवार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परीक्षण गरिएको थियो । यसैसँगै कोरोना शुरू भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जनाको कोरोना परीक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० मात्रा खोप लगाइएको छ ।
बेलायतमा कोरोनाको सङ्क्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
लन्डन/सिन्ह्वा
बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरूमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले जनाए अनुसार यहाँ अहिले पनि दैनिक ४० हजारजनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिवार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।
यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरूले सरकारी प्रयासका बावजूद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरूले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड नाघेको जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिए अनुसार यहाँ पछिल्लो २४ घण्टामा देखिएकासहित यहाँ यो भाइरसबाट अहिलेसम्म एक करोड ४२ हजारजनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घण्टामा मात्र यहाँ यो सङ्क्रमणबाट १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजारजनाभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करीब सात हजारजना अझै पनि अस्पतालमैं उपचाररत रहेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्ला दिनहरूमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लोपटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन भनेका छन् । रासस