प्रस, जीतपुर, १८ मङ्सिर/
सिमरामा जारी अन्तरविद्यालय फूटबल प्रतियोगितामा शनिवार ब्राइटर एकेडेमी, सिमरा र नेपाल राष्ट्रिय मावि, सिमरा विजयी भएको छ । सिमरा रङ्गशालामा शनिवार दिउँसो भएको पहिलो खेलमा जीतपुरसिमरा–१ पथलैयाको होली गार्डेन इङ्ग्लिश स्कूललाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै ब्राइटर विजयी भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा जीतका लागि ब्राइटरका जयराम महतोले खेलको ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । महतो खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । दोस्रो खेलमा नेपाल राष्ट्रिय मावि, पथलैयालाई एकका विरुद्ध तीन गोलअन्तरले हराउँदै नेपाल राष्ट्रिय मावि, सिमरा विजयी भयो ।
सिमराको जीतका लागि साहिल मोक्तानले दुई र किसन यादवले एक गोल गरेका थिए । मोक्तान यस खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । पथलैयाका लागि रिजन लामाले ४३औं मिनेटमा एक गोल गरेका थिए ।
ग्रासरूट फाउन्डेशनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत भोलि आइतवार पनि दुई खेल हुनेछ । पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी र सिमरा पब्लिक इङ्ग्लिश स्कूल खेल्नेछन् भने दोस्रो खेलमा पाथिभरा बोर्डिङ स्कूल र नोबेल एकेडेमी खेल्ने खेल संयोजक सोनु क्षेत्रीले बताए ।