प्रस, वीरगंज, १६ मङ्सिर/
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको लागि हाल पर्सामा भइरहेको क्षेत्रीय अधिवेशनमा पर्सा क्षेत्र नं १ मा अरविन्द गुप्ता, २ मा महम्मद सहाबुद्दीन र ३ मा श्रीकिसुन चौहान सभापति पदमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा तीन क्षेत्रका लागि भएको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन् । यसअघि पर्सा क्षेत्र नं ४ बाट श्रीकान्त यादव निर्विरोध निर्वाचित भइसकेका छन् । पर्सा क्षेत्र नं १ को क्षेत्रीय सचिवमा विनयकुमार गुप्ता र हरिप्रसाद यादवसहित २३ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २४ सदस्यीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको छ ।
महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, इम्तियाज आलम, अनिल रूँगटा, राजकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया खुला कलस्टरमा निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिको मुस्लिममा फिरोज खाँ, आदिवासी जनजातिमा आदित्यप्रकाश प्रधान, मधेसीमा मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, मधेसी महिलामा मिन्टुदेवी सिंह, अनामिका देवीलगायत निर्वाचित भएको क्षेत्र नं १ का मतदान अधिकृत प्रदीपकुमार जैसवालले जानकारी गराए ।
नगर क्षेत्रबाट मत नपाएर ग्रामीण भेगका पुराना नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
पर्सा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा जतनराउत कुर्मी, ब्रह्मदेव राउत कुर्मी, द्वारिका महतो, हबिब मियाँले हार बेहोर्नुपरेको छ ।
त्यसैगरी, पर्सा क्षेत्र नं २ बाट वैकुण्ठ श्रीवास्तवलाई पराजित गर्दै क्षेत्रीय सभापतिमा महम्मद सहाबुद्दीन विजयी भएका छन् ।
उनको सभापतित्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने १७ सदस्यीय महाधिवेशन प्रतिनिधिमण्डल निर्वाचित भएको क्षेत्र नं २ का मतदान अधिकृत तीर्थराज यादवले जानकारी गराए । उनका अनुसार महाधिवेशन प्रतिनिधिमा रामरूपप्रसाद कुर्मी, राकेश सिंह, अनिलप्रसाद शर्मा, दीनाप्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द दुबे, नितेन्द्रप्रसाद साह, श्याम पटेल, राजेश्वरप्रसाद साह तेलीलगायत रहेका छन् ।
नेपाली काङ्ग्रेस, पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
त्यसैगरी, क्षेत्र नं ३ मा क्षेत्रीय सभापतिमा भगवती चौधरीलाई पराजित गर्दै श्रीकिसुन चौहान विजयी भएको क्षेत्र नं ३ का मतदान अधिकृत छोटेलाल प्रसादले जानकारी गराए ।
उनका अनुसार २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २५ सदस्यीय महाधिवेशन प्रतिनिधिमण्डल निर्वाचित भएको जानकारी गराए ।
क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोककुमार गुप्ता, दिनेशकुमार चौधरी, जनाद्र्धनसिंह क्षत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेशप्रसाद कुर्मी, ममता महतो, उमेशकुमार चौधरी, रामजनम चौधरीलगायत निर्वाचित भएका छन् ।
यसपालिको पर्साको क्षेत्रीय अधिवेशनमा देउवा समूहका नेताहरू अधिकांश पदमा विजयी भएका छन् भने निधि र पौडेल पक्षकाले न्यून पदमा जीत निकाल्न सफल भएका छन् ।