काठमाडौं, १६ मङ्सिर/रासस
सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नोभेम्बर महीनामा हवाई मार्ग भएर २६ हजार १३५ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महीना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महीनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मकरूपमा पर्यटक आगमनमा झिनोरूपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।
बाह्य पर्यटक आगमनको पछिल्लो दुई महीनाको तथ्याङ्क हेर्दा झिनोरूपमा सुधार भएको छ । यद्यपि पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महीनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ । पर्यटक आगमन बढेको भएपनि सङ्ख्यात्मकरूपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने, “पर्यटनले लय समातेको देखिन्छ तर सङ्ख्यात्मकरूपमा कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।”
सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झन्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महीनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेको थियो । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महीनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।
यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको सङ्ख्या दुई लाख पुग्न मुश्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महीनामैं दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्यधिक सङ््ख्यामा पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जूनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगस्तमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबरमा २३ हजार २८४ र नोभेम्बर महीनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित
मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।
महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिंदै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वव्यापीरूपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए । उनले हल्ला अनुसार कस्तो प्रभाव हुन्छ अहिले नै भन्न नसकिने भएपनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिए । अहिले पनि जापान हिंडेका ११ नागरिक मलेशियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमैं सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।
ओमिक्रोन भेरियन्टको हल्ला विश्वभरि छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तर्राष्ट्रिय उडान भने रोक्नुहुँदैन, उनले भने । हाल जापान, इजरायल, अस्ट्रेलिया, बेल्जियम, अस्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।
बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बर महीनामा पर्यटक आगमन घट्ने हो कि भन्ने चिन्ता बढेको बताए । उनले नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहे पनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको बुझाइ छ ।