प्रस, वीरगंज, १५ मङ्सिर/

पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूले आफूखुशी गर्दै आएको अनियमितता रोकेपछि कर्मचारी तथा गापा अध्यक्षबीच विवाद शुरू भएको छ । गापा अध्यक्ष सुरेशप्रसाद कुर्मी र प्रमुख कार्यकारी अधिकृत राजु साहबीच विवादका कारण कर्मचारी र सेवाग्राहीहरू मारमा परेका छन् । दुवैजनाले एकअर्काविरुद्ध सार्वजनिकरूपमा टीकाटिप्पणी गर्न थालेका छन् । गापा अध्यक्ष कुर्मीले गापाको खाता रोक्का गरी अधिकृत साहको सरुवा गराउने प्रयास गरिरहेका छन्।

सो गापामा विगतमा भएको भ्रष्टाचारको साक्षी अधिकृत साह नबनेपछि गापाध्यक्षलगायत केही जनप्रतिनिधिहरूबीच मनमुटाव शुरू भएको स्रोतले बताएको छ । गापाध्यक्ष कुर्मीले घोडदौडापिपराका बासिन्दाका लागि ओरिया नदीमा झोलुङ्गे पुल निर्माणका लागि दुई वर्षअघि उपभोक्ता समिति गठन गरी ४४ लाख रुपैयाँ झिकेको र काम नगरेपछि उपभोक्तामाथि गापा कार्यालयले कारबाई प्रक्रिया अगाडि बढाएपछि अध्यक्ष कुर्मी अधिकृत साहसँग रिसाएका थिए ।
वास्तवमा निर्माणस्थलमा १० प्रतिशत काम गएको देखिन्छ । नियमानुसार उपभोक्ता समितिलाई पेश्की दिने नियम छैन, तर प्राविधिक मूल्याङ्कनसविना कसरी भुक्तानी दिइयो यो खोजीको विषय रहेको गाउँलेहरूले बताए ।

विगतमा करारमा भर्ना गरिएका कर्मचारीहरूको वर्षपछि म्याद थप्न घूस लिने परम्परा थियो । अहिले जनप्रतिनिधिहरूको रायबेगर गापाले म्याद थपेपछि विवाद बढेको छ । गत वर्ष स्वास्थ्यकर्मी भर्नाको विज्ञापन प्रकाशित गरे पनि नियुक्त नपाएका छजना कर्मचारीहरूलाई नियुक्ति दिन अधिकृत साहलाई गापा अध्यक्ष कुर्मीले दबाब दिंदा नियमविपरीत आफू काम गर्न नसक्ने बताएपछि झन् विवाद बढेको छ ।

कर्मचारी भर्नामा आर्थिक चलखेल भएको भन्दै सोही बेलादेखि भर्ना प्रक्रिया रोकिएको स्रोतले बताउँछ । तत्कालीन अधिकृत अशोक रौनियार र गापाध्यक्ष कुर्मीबीच सहमति नजुुटेको कारण उनीहरूको नियुक्ति प्रक्रिया रोकिएको थियो ।

गत आवको कामलाई चालू आवमा निरन्तरता दिन बोर्डले पारित गर्नुपर्ने नियम छ तर बोर्डका अन्य प्रतिनिधिहरू नियुक्ति प्रक्रियाको विरोधमा रहेको स्रोतले बताएको छ । यस विषयमा गापा अध्यक्ष कुर्मीले आफूहरूबीच विवाद छ तर कुनै अनियमितता नभएको दाबी गरे ।

चेक काट्ने अधिकार कर्मचारीसँग भएकोले जनप्रतिनिधिले भ्रष्टाचार गर्ने कुरा मिथ्या आरोप मात्र भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here