प्रस, वीरगंज, १५ मङ्सिर/
विश्व एड्स दिवसको अवसरमा बुधवार वीरगंजमा सचेतनामूलक ¥याली, सभा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा वीरगंज महानगरपालिकालगायत विभिन्न गैरसरकारी संस्थाहरूको सहभागितामा घण्टाघरबाट ¥याली निकालेर लिङ्करोड, बसपार्क परिक्रमा गरी सोही स्थानमा सभा आयोजना गरी समापन भएको थियो । सभामा स्वास्थ्य कार्यालय वीरगंजका प्रमुख नवलकिशोर साहले देशबाट सन् २०३० सम्म एचआइभी एड्स मुक्त गर्ने सरकारको योजना अनुरूप पर्सा जिल्लामा पनि कार्य भइरहेको बताए ।
उनले विभिन्न संस्थाहरूको सहयोगमा अभियानलाई सार्थकता दिन सकिने भन्दै एचआइभी एड्सको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूलाई योजनाबद्धरूपमा कार्यक्रम गर्न सुझाए । विद्यार्थी जागरण मञ्च वीरगंजका कार्यक्रम संयोजक नीरज साहले पर्सा जिल्लामा साढे पाँच सय एचआइभी सङ्क्रमित भएको र अन्यत्र जिल्ला गरी नारायणी अस्पतालबाट एघार सयजनाको हाराहारीमा सङ्क्रमितहरूले सेवा लिइरहेको बताए ।
उनले एचआइभी सङ्क्रमितहरूको हकमा नारायणी अस्पताल र समाजमा पनि अहिलेसम्म भेदभाव जारी रहेको दुःखेसो पोखे । असुरक्षित यौन सम्पर्क र एचआइभी सङ्क्रमित आमाबाट जन्मिने छोराछोरीहरूमा मात्र यो सङ्क्रमण हुने बताउँदै सङ्क्रमितहरूसँग दुव्र्यवहार नगर्न उनले आग्रह गरे । उनले एचआइभी सङ्क्रमितहरूको हकमा पालिकाहरूले बजेट छुट्याएर कार्य गर्दा लक्षित समयमा सार्थकता पाउने बताए । साहले २०६२ सालदेखि नारायणी अस्पतालमा एआरटी सेन्टर स्थापना गरेर सङ्क्रमितहरूलाई निश्शुल्क औषधोपचार गराउँदै आएको जानकारी गराए ।
नारायणी अस्पतालकी स्टाफ नर्स सरिता श्रेष्ठले एआरटी लिनेहरूमध्ये ६२ जनाले एआरटी लिन छाडेको र अन्यले नियमितरूपमा एआरटी सेन्टरमा सेवा लिइरहेको बताइन् ।