प्रस, परवानीपुर, १० मङ्सिर/
पर्साको सबैया साझेदारी वन व्यवस्थापन समूहको ट्याक्टर तथा पानी ओसार्ने टङ्कीको दुरुपयोग भएको छ । वीरगंज–१८ भवानीपुरमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्यमा यी सवारीसाधनको दुरुपयोग भएको गाउँँलेहरूले बताएका छन् । पुल निर्माण गर्ने उपभोक्ता समिति र सबैया साझेदारी व्यवस्थापन समूहकै अध्यक्ष एउटै व्यक्ति भएकाले यस्तो कार्य भइरहेको हो ।
सबैयाका अध्यक्ष लखनलाल साह कानूको सेटिङमा एउटा संस्थाका सामान अर्को काममा प्रयोग हुनु दुःखद भएको बताइएको छ । “निर्माण कार्यबाट पैसा बचाउन र सबैयाको डिजेल खर्च, गाडी तथा टङ्की दुरुपयोग भइरहेको छ,” भवानीपुरका एक बासिन्दाले भने, “सबैया वन व्यवस्थापन समूहका पदाधिकारीहरूले उनीमाथि कारबाई गर्नुपर्छ ।” पुलको पाया ढलान गर्ने काममा ट्याक्टर र टङ्कीको प्रयोग भइरहेको छ ।
यस विषयमा सबैयाका अध्यक्ष लखनलाल साह कानूसँग सोध्दा उनले श्रीसिया खोलाको पानी गुणस्तरीय नभएकोले सामाजिक काम भनेर समूहको गाडी र उपकरणले काम गराएको स्वीकार गरे । “सामाजिक काम जस्तै हो, त्यसैले काम गराइरहेको छु,” उनले भने ।
एडिबी र स्वीस सरकारको अनुदानमा हेल्भेटास नेपालले बहु वर्षे योजना अन्तर्गत निर्माण गराइरहेको उक्त पुल गत आव २०७६/७७ कै योजना हो । गत एक वर्षदेखि निर्माण कार्य शुरू भएको योजना आगामी डेढ महीनामैं सकाउने सो निर्माण कार्य हेर्ने वीरगंज महानगरका इन्जिनीयर ओमप्रकाश यादवले बताए ।
६४ मिटर लम्बाइ भएको उक्त पुलको बजेट स्टील फेब्रिकेशनतर्फ २९ लाख, उपभोक्ता समूहले गर्ने निर्माणतर्फ २४ लाख र बाँकी बीमालगायत शुल्क जोड्दै रु ६४ लाख बजेट रहेको छ । रामजानकी झोलुङ्गे नामले पुल निर्माण भइरहेको उक्त पुलले वीरगंज–१८ भवानीपुर, वडा नं २२ मनियारी, २३ प्रसौनीबिर्ताका बासिन्दालाई पटेलनगर, सुखचैना, गण्डक, परवानीपुरतर्फ निस्किने छोटो बाटो तय गर्नेछ ।