प्रस, मकवानपुर, २९ भदौ/
    मकवानपुर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी शुरू भएको छ।
    दशैं, तिहारको अवसर र लामो समयसम्म यातायात बन्दको कारण सर्वसाधारणमा पर्न गएको असहजतालाई विचार गर्दै जिल्लाका विभिन्न स्थानमा असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्। सोमवार बिहान बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लाका विभिन्न रूटमा चल्ने यातायातको कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई जिम्मेवारी दिएको छ। यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय भएको छ।
    बैठकले लक्षणसहितको कोरोना सङ्क्रमितलाई उपचार गर्न ९० शय्याको आइसोलेशन निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई सुम्पिएको छ। जिल्लास्थित नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० शय्याको आइसोलेशन कक्ष स्थापना गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताए। निर्णय अनुसार मध्य पृतना मुख्य कार्यालय सुपारीटार, दलगण चित्लाङ, नं १ जगदलगण सुनाचुरी, काली इन्जिनीयरिङ दलगण भैंसे, पुरानो गोरखगण सुपारीटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लास्टिक उद्योग र छतिवन ब्यारेकमा छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय भएको छ ।
    यसरी सेनाले सञ्चालन गरेको  आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई भने पर्साको वीरगंज वा चितवनको भरतपुरतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको बैठकका सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here