संयुक्त राष्ट्रसङ्घ, ९ मङ्सिर/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले हालै गरेको एक अध्ययनमा कोभिड–१९ को महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ वटा देशमा भएको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि वृद्धि भएको पाइएको हो ।
विश्वका अरू देशमा पनि यो महामारीका कारण आफ्नो घरमैं र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ।
ती १३ देशमा भएको सर्वेक्षणबाट महिलाहरूले महामारीका कारण घरमैं बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरूमाथि हिंसा बढेको उनीहरूले बताएका थिए । घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिए पनि वास्तविकता त्यस्तो नरहेको ती महिलाहरूले जनाएका छन् ।
यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो । तर घरमा बस्दा महिला हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको छ । सो सर्वेक्षणमा समेटिएका महिलाहरूमध्ये आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसा महसूस गरेको बताएका थिए ।
त्यसैगरी एकचौथाई महिलाले त आफूहरू घरमैं असुरक्षित रहेको बताएका थिए । उनीहरूले महामारी शुरू भएदेखि घरमैं हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए । उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको पूर्ण वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ ।
यसै पनि घरेलु हिंसाका घटना अत्यल्प जानकारीमा आउने र महामारीपछि सबैलाई घरभित्रै बस्नुपर्ने समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको अनुसन्धान रिपोर्टमा जनाइएको छ । रासस