सप्तरी, ९ मङ्सिर/रासस

यहाँको कञ्चनरूप नगरपालिकामा शहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौंको सहयोगमा ‘शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।

नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङ्को शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा शुरू भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग पुग्ने जानकारी दिए । आयोजना निर्माण सम्पन्न भएपछि सबैको घर–घरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ ।

कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको जानकारी दिए । सन् २०१८ मैं भएको पहिलो सर्वेक्षण अनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउनेछन् ।

आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ। साथै १४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ । नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीटङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेन्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाइ छ ।

सन् २०१८ को ढाँचा अनुसार नगरपालिकाका २४ हजार ४६४ जनसङ्ख्या लाभान्वित हुनेछन् । सन् २०४० सम्ममा करीब ४० हजार जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । बीस वर्षपछि १६ हजार ९०१ घरधुरी थप हुने आयोजनाको प्रारम्भिक अनुमान छ ।

परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो । जम्मा रु ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना रु ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ ।

शर्मा/दिवा/सगुन जेभीले आयोजनाको काम गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भए अनुसार दुर्ई वर्षभित्रमा पहिलो चरणको निर्माण कार्य सम्पन्न गरिसक्नेछ । यस आयोजनालाई एशियाली विकास बैंक (एडिबी)बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here