प्रमोद यादव, पंचगावाँ, ८ मङ्सिर/
पर्साका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा दिवाखाजा सञ्चालन नहुँदा विद्यालयमा नियमित अध्यनरत गर्ने बालबालिकाको सङ्ख्या घट्दै गइरहेको छ ।
पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर, पर्सागढी, धोबिनी, विन्ध्यवासिनी, पोखरिया, बहुदरमाईलगायत १४ वटै स्थानीय तहमा सङ्घीय सरकारबाट लागू भएको दिवाखाजा समयमा सञ्चालन नहुँदा दिवाखाजाको रकम फ्रीज भई खेर जाने गरेको सरोकारवालाहरूले बताएका छन् । विद्यालयमा दिवाखाजा सञ्चालन गर्दा विशेषगरी प्रारम्भिक कक्षा एवं बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरू नियमित विद्यालय आउने गरेको र टिफिन खाने बहानामा घर जाने बानीसमेत रोकिएको थियो ।
कोरोना कहरपछि सामुदायिक एवं सरकारी विद्यालय ढिलो गरी सञ्चालन हुँदा पाठ्यक्रम समयमा पूरा नहुने भएकोले कम समयमा बढी प्रभावकारी शिक्षा प्रदान गर्न विद्यार्थीहरू विद्यालयमा नियमित हुनु जरुरी छ ।
विद्यालयमा दिवाखाजाको व्यवस्था नहुनुमा गापाको शिक्षा शाखा, लेखा शाखा र जनप्रतिनिधिहरू दोषी भएको पटेर्वासुगौली–३ सोनवर्षाका मुना तिवारीले बताइन् ।