प्रस, गरुडा, ८ मङ्सिर/
रौतहटको मौलापुर नगरपालिकाले मौलापुर सामुदायिक एफएम रेडियो सञ्चालनमा ल्याएको छ। यसअघि गरिएको परीक्षण प्रसारण सफल भएपछि नगरपालिकाले रेडियोको नियमित प्रसारण शुरू गरेको हो ।
मौलापुर नगरपालिका–५, मौलापुर बजारमा मौलापुर सामुदायिक एफएम रेडियोको नगरप्रमुख रीनाकुमारी साहले बुधवार उद्घाटन गरेकी हुन । रेडियोले नियमित प्रसारण शुरू गरेपछि कृषि, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले सुझाइन् । समाजमा नकारात्मक असर पार्ने गीतहरू नबजाउन उनले निर्देशन दिंदै नगरप्रमुख साहले रेडियोलाई सबै नागरिकको साझा आवाज बोल्ने थलोको रूपमा विकास गर्न आग्रह पनि गरिन् ।
रेडियोको नियमित सञ्चालन गर्दै उपप्रमुख गौरीशङ्कर साह, प्रमुख प्रशासकीय अधिकृत रामबाबू साह, एफएमका उपाध्यक्ष अमर साहलगायतले रेडियोमा नमूना कार्यक्रमहरू सञ्चालन गरिने बताए ।
नगरपालिका गठन भएर निर्वाचित जनप्रतिनिधि आएपछि मौलापुर नगरपालिकाले चार वर्षमा चारवटा माध्यमिक विद्यालयको लागि जग्गासमेत खरीद गरी भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । यसैगरी, नपाको लगानीमा प्राविधिक विद्यालय सञ्चालनमा आइसकेको छ भने दलित बस्तीको निर्माण भई हस्तान्तरण भइसकेको र अहिले सामुदायिक एफएम सञ्चालनमा ल्याएर अर्काे नमूनाको काम गरेको छ ।
मौलापुर नगरपालिकाले पहिलोचोटि छात्रालाई साइकल वितरण शुरू गरेको थियो । यसैगरी, विपन्न समुदायलाई छोरीको बिहेमा आर्थिक सहयोग गर्दै आएको मौलापुरले दरबन्दी सिर्जना गरी नगर शिक्षक भर्ना गरिसकेको छ ।