–रमेश गिरी

भक्तपुर, ८ मङ्सिर/रासस

कुनै पनि सरकारी कार्यालय होस् वा निजी संस्था, कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी पाउन मुश्किल पर्छ । विशेषगरी सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ । एक दिन बिदा बाँकी भएसम्म कर्मचारी छोड्दैनन्, बिदा बस्ने गर्छन् ।

सरकारले कर्मचारीलाई उपलब्ध गराउने भैपरी, घर, बेतलबी, बिरामी, भ्रमण र विशेषलगायत बिदा लिने, यातायात तथा हवाई सेवादेखि होटलको बिलसमेत पेश गर्ने र कतिपयले बिदाको दुरुपयोगसमेत गर्ने गरेको सुन्ने गरिन्छ । तर मध्यपुरथिमि नगरपालिकामा विगत १८ वर्षदेखि स्थायी कार्यरत एकजना कर्मचारीले अहिलेसम्म कुनै बिदा र अतिरिक्त सेवा सुविधा नलिई इमानदारी साथ काम गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

विसं २०२६ असोज १ गते भक्तपुरको गठ्ठाघरमा जन्मेका केशव सिलवाललाई मध्यपुरथिमि नगरपालिकामा काम गरेको १८ वर्ष बितेको छ । कानून अधिकृतमा एक वर्ष करारमा काम गर्दै २०५९ भदौ ३ गते मध्यपुरथिमि नगरपालिकामा स्थायी भएर कानून अधिकृतमा सेवा प्रवेश गरेका सिलवालको इमानदारिताको चर्चा जहाँतहीं चल्ने गरेको छ । कानून अधिकृतबाट २०६७ सालमा वरिष्ठ कानून अधिकृत हुँदै २०७४ मा कानून तथा प्रशासन महाशाखाको निर्देशकको रूपमा सिलवाल कार्यरत छन् । यस नपाका स्थायी सेवा शुरू गरेदेखि नै सूचना अधिकारीको समेत जिम्मेवारी सम्हाल्दै आएका उनले जनप्रतिनिधि आउनुपूर्व नगरपालिकामा आउने मुद्दामध्ये अदालत पठाउनु नपर्ने मुद्दाको निरूपण गर्नेदेखि प्रशासनको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।

यस नगरपालिकामा १८ वर्षको सेवा अवधिमा उनले जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि आएपछि गरी २९ पटक निमित्त प्रमुख भएर नगरपालिकाको प्रमुख जिम्मेवारीसमेत सम्हालेको उनको भनाइ छ । मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तह उत्तीर्ण गरेका उनले यस नपामा कानून तथा प्रशासन महाशाखा अन्तर्गत शिक्षा, कृषि, सहकारी, स्वास्थ्य, लेखा, राजस्व, सामुदायिक, प्रशासन, महिला विकास, वडा कार्यालयलगायत १४ वटा शाखाको नेतृत्व गर्दै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनले भने–“नगरपालिकाका कार्यक्रम, योजना, अनुगमन, सुपरिवेक्षण गर्ने, यहाँका शाखामा कुनै समस्या आए सुल्झाउने, शाखाको काम–कारबाहीको रेखदेख गर्नेलगायत जिम्मेवारी सम्हाल्दै आएको छु ।” २०५६ सालदेखि बिहान एउटा कलेजमा कानून विषयको अध्यापन गराउँदै आएका उनी कलेजपछि सीधै नगरपालिका कार्यालय पुग्छन् । दैनिक पौने १० बजे पहिले नै नियमित कार्यालय प्रवेश गर्ने सिलवाल अरू कर्मचारी आउनु अगावै कार्यालय पुग्ने र पाँच बजेपछि अरू कर्मचारी निस्किसकेपछि मात्रै आफ्नो कार्यकक्षबाट निस्कने गरेको यहाँका कर्मचारी बताउँछन् ।

कार्यालयलाई अत्यावश्यक पर्दा उनी रातिसम्म बसेर पनि काम गर्ने गरेको सुनाउँछन् । महाशाखा निर्देशक सिलवालले भने–“जागिरे जीवनको १८ वर्ष लामो अवधिमा मैले आफ्नै घरपरिवारमा विवाह तथा व्रतबन्ध हुँदा पाँच दिन र जनप्रतिनिधि आएपछि नगरपालिकाकै काममा जापान जाँदा पाँच दिन गरी १० दिनबाहेक अहिलेसम्म कुनै दिन बिदा बसेको छैन, न कुनै सुविधा र भत्ता नै लिएको छु ।” अतिरिक्त समयमा काम गरेबापत पाइने ओटीदेखि बिदा नलिएबापत लिने अन्य सुविधा, कुनै पनि भत्ता वा थप तलब सुविधा केही नलिएको उनको भनाइ छ । सूचना अधिकारीसमेत रहेका सिलवालले भने–“एक कर्मचारीले वर्षमा ६ दिन पर्व बिदा, ६ दिन भैपरी आउने बिदा र ३० दिन घर बिदा गरी ४२ दिन बिदा पाउँछ, यसलाई जोड्ने हो भने पनि १८ वर्षमा ७५६ दिन म बिदा बस्न पाउथें तर मैले १० दिनबाहेक ७४६ दिन बिदा नलिई कार्यालयलाई दिएको छु, मैले बिदा नलिएबापत थप तलब, अन्य सुविधा वा कुनै पनि शीर्षकमा भत्ता लिएको छैन ।”

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकामा इमानदार कर्मचारीको रूपमा उनलाई लिने गरेको बताए । उनले भने–“म नगरप्रमुख भएर आएको चार वर्ष नाघिसकेको छ, सिलवालले म आएपछि जापान जान बाहेक अरू दिन बिदा लिएको थाहा छैन, दिएको सबै जिम्मेवारी पूरा गर्ने र कार्यालय समयभन्दा पहिले आउने र कार्यालय समयपछि जाने, जस्तोसुकै अप्ठ्यारो काम सुल्झाउने इमानदार कर्मचारीको रूपमा नगरपालिकाले सिलवाललाई पाएको छ ।” नगरपालिकाका प्रशासकीय प्रमुख चुडामणि पन्थीले सिलवालप्रति कार्यालयमा कसैले गुनासो नगरेको सुनाउँदै गुनासो गर्ने ठाउँ नै नराखी उनले काम गर्दै आएको बताए । उनले पाउने बिदा पनि नलिई काम गरेको देख्दा छक्क परेको उनले बताए ।

सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ६ बजे घरबाट निस्केर कलेजमा दुईवटा कानून विषयको अध्यापन गरेर सीधै नगरपालिका जाने उनको दैनिक तालिका नै हो । विभिन्न निकायमा स्रोत व्यक्तिको रूपमा समेत सिलवालले पहिचान बनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here