प्रस, वीरगंज, ७ मङ्सिर/

वीरगंजका दुईवटा भन्सारले चालू आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा बढी असुली गरेका छन् । वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व सङ्कलन गर्दै करीब ८७ अर्ब राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालू आव २०७८/७९ को साउनदेखि कात्तिकसम्म रु ८७ अर्ब ७ करोड रुपैयाँ राजस्व उठाएका हुन् ।

दुवै भन्सारले पाएको राजस्व लक्ष्य पूरा गर्दै बढी राजस्व असुली गरेका छन् । गत आवमा कोरोना महामारीको असरले राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेकोमा चालू आवमा कोरोना महामारी कम हुँदै गएपछि आयात बढेसँगै राजस्वमा सकारात्मक सुधार आएको भन्सार अधिकारीहरूले बताएका छन् ।

गत आवको प्रथम चौमासिकमा ४३ अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको वीरगंज भन्सारले चालू आवको सोही अवधिमा रु ७० अर्ब १२ करोड रुपैयाँ उठाएको वीरगंज भन्सारको तथ्याङ्कले देखाएको छ । वीरगंज भन्सारले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गरेको छ । भन्सारले यस अवधिमा रु २६ अर्ब ४८ करोड मूल्य अभिवृद्धि कर र आयाततर्पm रु २५ अर्ब ४१ करोड भन्सार महसूल सङ्कलन गरेको वीरगंज भन्सारका प्रशासक अरुण पोखरेलले बताए ।

यो रकम भन्सारको लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व हो । चालू आवको कात्तिकसम्म चार महीनामा रु ६५ अर्ब ११ करोड रुपैयाँ राजस्व लक्ष्य पाएको थियो । त्यसैगरी, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको प्रथम चौमासिकमा करीब ४ प्रतिशत बढी राजस्व उठाएको प्रमुख भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सुक्खा बन्दरगाह भन्सारले चार महीनामा रु १६ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ भने सो अवधिमा उक्त भन्सारले रु १६ अर्ब ३० करोडको लक्ष्य पाएको थियो ।

वीरगंज भन्सार नाकाबाट विशेषगरी इन्धन, सवारीसाधन, क्रुड आयल, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ भने प्रशोधित खानेतेल, जुस, पिना, कपडा, धागोलगायत सामान बढी निकासी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here