प्रस, वीरगंज, ६ मङ्सिर/

नेपाली काङ्ग्रेसको प्रदेश २ मा बुथ समितिको निर्वाचन अन्तिम चरणमा रहेको संयोजक रमेश रिजालले बताएका छन् । प्रदेशका सात जिल्लामा कात्तिक २७ गतेदेखि र पर्सामा मङ्सिर १ गतेदेखि बुथ समितिको निर्वाचन भइरहेको छ ।

प्रदेश संयोजक रिजालले बुथ समितिको निर्वाचनमा मात्र बढी समय लागेको र अन्य निर्वाचन चाँडो हुने बताए । बुथ समितिको चुनावपछि पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन र अन्त्यमा महाधिवेशनको तालिका छ । काङ्ग्रेसको महाधिवेशन यही मङ्सिर हुने तय छ ।

प्रदेश २ मा काङ्ग्रेसको प्रतिनिधि छनोटको लागि छठ पर्वपछि प्रक्रिया शुरू भएकोले महाधिवेशनसम्म तालिका अनुसार निर्वाचन नहुने आशङ्का पनि गरिंदैछ ।

पर्सा/बारामा बुथ समितिको निर्वाचन सम्पन्न

यसैबीच, पर्सा र बारामा बुथ समितिको निर्वाचन सम्पन्न भएको छ । पर्सा जिल्लामा ११२ वटा बुथ समितिको निर्वाचन हुनुपर्नेमा छिपहरमाई गापा–५, मिर्जापुर र पर्सागढी नगरपालिका–६ को मुद्दा अदालतमा विचाराधीन भएकाले सोबाहेक सबै बुथ समितिको निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए । उनले सोमवार दुईवटा बुथ समितिको निर्वाचन भएसँगै बुथ समितिको निर्वाचन प्रक्रिया सकिएको बताए ।

यसैगरी, बाराका प्रमुख निर्वाचन अधिकृत राजन दाहालले १६७ वटा बुथ समितिको निर्वाचन सम्पन्न भएको बताए । उनले बुथ समितिको निर्वाचन सम्पन्न भएपनि केही बुथ समितिमा उजूरी परेकाले सोबारे छानबीन भइरहेकाले औपचारिक घोषणा हुन नसकेको बताए ।

सबै बुथ सभापति सर्वसम्मत

प्रदेश २ मा सबै बुथ सभापति सर्वसम्मत चयन भएका छन् । ढिलो गरी बुथ समितिको निर्वाचन यो प्रदेशमा भएकोले प्रायः सबै बुथ समिति सर्वसम्मत चयन भएको बताइएको छ । बुथ समिति सर्वसम्मत भएकोले अन्य छनोट पनि सर्वसम्मत गरिने प्रयास हुने स्रोतले जनाएको छ । निर्वाचन प्रक्रियामा जाँदा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ढिला हुन जाने भएकोले सर्वसम्मतको प्रयास भइरहेको काङ्ग्रेस स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here