प्रस, पोखरिया, ६ मङ्सिर/
प्रत्येक वर्ष छठ पर्वपछि हरियो तरकारीको मूल्य घट्ने गरे पनि यस वर्ष भने हरियो तरकारीको मूल्य ज्यूँका त्यूँ छ । चाडपर्वका कारण हरियो तरकारीहरू यसअघि पनि महँगो हुन्थ्यो । तर यसपटक चाडपर्व सकिए पनि हरियो तरकारीहरू भने महँगोमा बिक्री भइरहेको छ । तरकारीखेती गत वर्षसरह नै यस वर्ष भएको तर बेमौसमी वर्षाका कारण तरकारीखेती प्रभावित हुँदा मूल्य नघटेको एकथरी किसानको भनाइ छ ।
अहिले पोखरिया बजारमा काउली ६०, भन्टा ७०, बन्दा ४०, केराउ (हरियो) २ सय, मूला ४०, काँक्रो १२०, परवल ८०, करैला १२०, गोलभेंडा १२०, खुर्सानी ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
दशैंदेखि छठसम्म काउली रु १६० प्रतिकिलोमा बिक्री भएको थियो भने हरियो केराउ रु ३५० प्रतिकिलोमा बिक्री भएको थियो । यी दुई तरकारीको मूल्य केही घटेको छ । तर अन्य भने दशैं, तिहारकै मूल्यमा बिक्री भइरहेका छन् ।